CLI
Global College

यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’

काठमाडौं । ग्रामीण क्षेत्रसम्म सडक सञ्जाल र यातायातको पहुँच विस्तार भएसँगै भोजपुरका दुर्गम गाउँमा पालिएका खसीबोकाले सहज रूपमा बजार र उचित मूल्य पाउन थालेका छन् । यातायातको सहजतासँगै स्थानीयस्तरमा उत्पादन भएका खसीबोका ठूला सहरमा जान थालेपछि किसानलाई बेचबिखनमा पनि सहजता भएको हो । यसबाट आर्थिक उपार्जन पनि राम्रो भएको छ ।

पहिला दसैँ–तिहारजस्ता ठूला चाडपर्वका बेलामात्र फाट्टफुट्ट खसीबोका बिक्री हुने गर्दथे । किसानलाई खसीबोका बेच्न स्थानीय हाटबजारसम्म डोहोर्याएर लैजानुपर्ने झन्झटसँगै सोचेजस्तो मूल्य नपाइने बाध्यता थियो । अहिले सडक सञ्जाल विस्तार भएसँगै गाउँका खसीबोका काठमाडौं, धरान, इटहरी र विराटनगरजस्ता ठूला सहरसम्म पुग्न थालेका छन् ।

अहिले गाउँमै जिउँदो खसीबोका प्रतिकिलो ५०० देखि ६०० रुपैयाँसम्ममा सहजै बिक्री भइरहेको छ । राम्रो मूल्य पाउन थालेपछि जिल्लामा बाख्रापालनमा किसानको आकर्षणसमेत बढेको छ । गाउँबाट खसीबोका सङ्कलन गरेर काठमाडौं पठाउँदै आएका स्थानीय व्यापारी गणेश विष्टका अनुसार अहिले महिनामा २०० का हाराहारीमा खसीबोका काठमाडौं पठाउने गरिएको छ । युवाहरू मिलेर गाउँबाट सङ्कलन गरिएका खसीबोका काठमाडौं ढुवानी गर्दा प्रतिगोटा रु ८०० देखि एक हजार ५०० सम्म भाडा लाग्ने गरेको उनले जानकारी दिए ।

घरआँगनबाटै खसीबोका बिक्री हुन थालेपछि किनबेचमा ठूलो सहजता आएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय हर्कराज लुइँटेल बताउँछन् । घरमै तराजुमा जोखेर बेचिने भएकाले ठगिने सम्भावना नरहेको उनको भनाइ छ । आफूलाई पैसा खाँचो परेको अवस्थामा तुरुन्तै बिक्री हुँदा गर्जो टार्न सहज भएको उनले जानकारी दिए ।

‘यातायातको सुविधाका कारण गाउँघरमा पालिएका खसीबोका अहिले काठमाडौँलगायतका ठूला सहरसम्म जान थालेका छन्,’ उनले भने, ‘विगतमा अन्दाजको भरमा बेच्नुपर्दा घाटा सहनु पथ्र्यो । अहिले व्यापारी आफैँ खोरसम्म खोज्दै आउँछन् । खोरबाटै राम्रो मूल्यमा बिक्री गर्न पाउँदा निकै सहज भएको छ ।’

अर्का स्थानीय किसान रमेश विष्टले पनि घरैबाट सोचेजस्तो मूल्यमा खसीबोका बिक्री हुन थालेपछि बाख्रापालनबाट मनग्य आम्दानी लिन सकिने अवस्था बनेको बताए । ‘विगतमा पनि खसीबोका बिक्री त हुन्थे, तर सहज थिएन,’ उनले भने, ‘आफूलाई परेका बेला तत्कालै बिक्री हुने अवस्था पनि थिएन । तर अहिले भने बिक्रीका लागि कुनै समस्या छैन ।’ सडक सुविधाका कारण बजारको पहुँच विस्तार भएसँगै दुर्गम गाउँका किसानका लागि बाख्रापालन व्यवसाय भरपर्दो र गतिलो आम्दानीको स्रोत बन्दै गएको छ ।

Leave Your Comment

Related News