CLI
Global College

नेपालको टनेल उद्धारलाई अस्ट्रेलियाली विज्ञ अर्नोल्ड डिक्सले भने- ‘मेरो जीवनकै सबैभन्दा कठिन परीक्षा’

काठमाडौं ।  भारतको सिल्कयारा टनेलभित्र फसेका ४१ जना श्रमिकको सकुशल उद्धार गरेर विश्वभर चर्चित बनेका अस्ट्रेलियाली टनेल विज्ञ प्राध्यापक अर्नोल्ड डिक्सले नेपालको बाढीप्रभावित जलविद्युत् आयोजनाका टनेलमा जारी उद्धार कार्यलाई आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा बताएका छन्।

रसुवा र नुवाकोटका बाढीप्रभावित टनेलहरूमा उद्धार टोलीको नेतृत्व तथा प्राविधिक मार्गदर्शन गरिरहेका डिक्सले सामाजिक सञ्जालमा एक भावुक सन्देश लेख्दै नेपालमा भोगेको चुनौती अभूतपूर्व रहेको उल्लेख गरेका छन्।

“अहिले नेपालमा हामीले त्यस्तो चुनौतीको सामना गरिरहेका छौँ, जुन मैले यसअघि कहिल्यै भोगेको थिइनँ। यो केवल एउटा स्थानको उद्धार कार्य मात्र होइन, फरक-फरक ठाउँमा, आफ्नै किसिमका जोखिम र अनिश्चितताका बीच एकैपटक धेरै उद्धार कार्यहरू सञ्चालन भइरहेका छन्, जहाँ अझै पनि जीवन बचाउन सकिने सम्भावना छ,” डिक्सले भनेका छन्।

सन् २०२३ मा भारतको सिल्कयारा टनेलमा १७ दिनसम्म भूमिगत फसेका ४१ जनालाई सुरक्षित बाहिर निकालिएको घटना स्मरण गर्दै उनले थपे, “सिल्कयारामा ४१ जना जमिनमुनि थिए र उनीहरूलाई जीवितै घर फर्काउने एउटा असम्भव जस्तै लाग्ने जिम्मेवारी हामीसँग थियो। हामीले त्यो परीक्षा सँगै उत्तीर्ण गर्‍यौँ। तर एउटा ठूलो परीक्षामा सफल हुनुको अर्थ परीक्षा सकिनु होइन, सायद हामीलाई अझ ठूलो जिम्मेवारी सुम्पिइनु हो।”

पश्चिमा र पूर्वीय दर्शनको तुलना गर्दै डिक्सले ‘कर्तव्य’ र ‘धर्म’  को महत्त्व दर्शाएका छन्। पश्चिमा परम्पराले नतिजा अनिश्चित भए पनि सही काम गर्नुलाई कर्तव्य मान्ने उल्लेख गर्दै उनले भनेका छन्, “पूर्वीय परम्पराले ‘धर्म’को अर्को शक्तिशाली अवधारणा दिन्छ। परीक्षा हामी सफल हुन्छौँ कि हुँदैनौँ भन्ने मात्र होइन; जब बाटो झन् कठिन बन्दै जान्छ, जिम्मेवारीहरू थपिन्छन् र नतिजा अज्ञात हुन्छ, तब पनि हामी सही काममा निरन्तर लागिरहन्छौँ कि छैनौँ भन्ने मुख्य प्रश्न हो।”

सिल्कयाराले आफूलाई ‘अमिल्दो’ र ‘असम्भव’ बीचको फरक सिकाएको भन्दै उनले नेपालले त्योभन्दा ठूलो पाठ सिकाएको बताएका छन्। “जब एकैपटक धेरै जीवनहरू हामीमाथि निर्भर हुन्छन्, तब आशा अनुशासनमा परिणत हुनुपर्छ, करुणा कार्यमा बदलिनुपर्छ र कर्तव्य सफलताको निश्चिततामा मात्र आधारित हुनुहुँदैन,” उनले लेखेका छन्।

आफ्नो सन्देशको अन्त्यमा डिक्सले लेखेका छन्, “पूर्व होस् वा पश्चिम, सिद्धान्त एउटै हो— हाम्रो मूल्याङ्कन हामीले कति जीवन बचायौँ भन्नेबाट मात्र हुँदैन, बरु हामीले त्याग्न अस्वीकार गरेका जीवनहरूबाट पनि हुन्छ।”

Leave Your Comment

Related News