काठमाडौं । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोपमा नापी कार्यालय कलंकीका तत्कालीन दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार नापी कार्यालय कलंकीमा तत्कालीन समयमा सर्भेक्षक पदमा कार्यरत अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेले काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मा रहेको जग्गा हालसाबिक गरी प्लट मिलानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेका थिए।
अनुसन्धानका क्रममा उनीहरूले नियमअनुसार गरिदिनुपर्ने काम नगरी सेवाग्राहीलाई दुःख–हैरानी दिएको र काम गरिदिने भन्दै घुस रकमका लागि बार्गेनिङ गरेको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका अनुसार श्रेष्ठ र पार्धेले आफूले प्रत्यक्ष रूपमा रकम नबुझी कार्यालय सहयोगीमार्फत रकम लिन मन्जुर गरेका थिए। यसबाट घुस रकम प्राप्त गर्ने र आफू कानुनी कारबाहीबाट समेत उम्कने गलत उद्देश्य तथा बदनियत राखेको पुष्टि भएको आयोगको दाबी छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले दुवै प्रतिवादीविरुद्ध ५० हजार रुपैयाँ बिगो कायम गरेको छ।
आयोगले श्रेष्ठ र पार्धेलाई सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा दफा ३ को उपदफा (१) बमोजिम बिगो बराबर जरिवाना गर्न मागदाबी गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवैविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।



