काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका स्वास्थ्यसम्बन्धी चुनौती र जलवायु न्यायको विषय उठाएको छ।
चार दिनसम्म चल्ने बैठक आजदेखि टिमोर–लेस्टेको राजधानी डिलीमा सुरु भएको हो। बैठकमा नेपाल सरकारका तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा सहभागी हुने योजना रहे पनि देशमा आएको विनाशकारी बाढीका कारण मन्त्री सहभागी हुन सकेनन्।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य क्षेत्रको प्रतिकार्य, समन्वय तथा जीवनरक्षाका कार्यमा प्रत्यक्ष संलग्न रहनुपर्ने भएकाले मन्त्री बैठकमा सहभागी हुन नसकेको मन्त्रालयले जनाएको छ। मन्त्रीको अनुपस्थितिमा अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल बैठकमा सहभागी भइरहेको छ।
मन्त्रीले बैठकलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै नेपालले हाल भोगिरहेको बाढीजन्य संकट र त्यसबाट प्रभावित जनसमुदायको अवस्थाबारे जानकारी गराएका छन्।
उनले जलवायु परिवर्तनलाई क्षेत्रीय समितिको छलफलको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन्। नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनका कारण बाढी, पहिरो, हिमतालसम्बन्धी जोखिम तथा स्वास्थ्य पूर्वाधारमा क्षतिजस्ता गम्भीर असर भोगिरहेको उनको भनाइ थियो।
नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको असरलाई जलवायु न्यायको विषयका रूपमा प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रका लागि समर्पित जलवायु वित्त सुनिश्चित गर्न आह्वान गरेको छ।
त्यस्तै, जलवायुजन्य विपद्बाट स्वास्थ्य क्षेत्रमा पर्ने असर न्यूनीकरणका लागि बलियो बहुक्षेत्रीय सहकार्य र जलवायु उत्थानशील स्वास्थ्य प्रणाली निर्माण गर्न क्षेत्रीय तथा विश्वव्यापी प्रतिबद्धता थप सुदृढ गर्न नेपालले आग्रह गरेको छ।



