काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाल टेलिकममा हाल कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड २ लाख २६ हजार ०६ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ ।
आज भदौ २२ गते नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक कार्यक्रमका बिच प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले उक्त सहयोग रकम माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य एवम् अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय, सञ्चालक समिति सदस्य (कर्मचारी प्रतिनिधि) लोक बहादुर कटुवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख मानव संसाधन अधिकृत निर्झर भट्टराईको समेत उपस्थिति थियो ।
यसअघि पनि बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा कम्पनीमा कार्यरत कर्मचारीहरूले व्यक्तिगत तथा सामूहिक रूपमा आर्थिक सहयोग गर्दै आएका थिए ।
विपद्बाट प्रभावित नागरिकलाई राहत पु¥याउने उद्देश्यले नेपाल टेलिकमका विभिन्न तहमा कार्यरत कर्मचारीहरूको तलवबाट तहगत योगदानका आधारमा रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । यस सहयोगले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका कार्यमा केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल टेलिकमले संस्थागत रुपमा कम्पनीको तर्फबाट समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै रकम केही दिनभित्रै उपलब्ध गराउने छ । विपद्का समयमा सञ्चार सेवाको निरन्तरता कायम गर्न र राहत, उद्धार तथा पुनःस्थापना कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न समेत कम्पनी सदाझै प्रतिबद्ध छ ।



