काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन–जी आन्दोलनका शहीद तथा घाइतेका माग सम्बोधन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।
जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गौतमले सरकारप्रति विश्वास राख्न शहीद परिवार, घाइते तथा आन्दोलनकारीलाई आग्रह गरिन्।
आन्दोलनसँग सम्बन्धित मागहरूबारे सरकारमा रहेका मन्त्री तथा संसद्मा रहेका सांसदहरूबीच नियमित छलफल भइरहेको जानकारी दिँदै उनले भनिन्, ‘तपाईंहरूका मागहरू धेरै छन्। ती मागहरू सम्बोधन गर्नका लागि हामी हरेक दिनजसो अहिलेको सरकारमा रहेका मन्त्रीहरू, संसद्मा रहेका सांसदहरू सरसल्लाह गरिरहेका छौँ।’
मन्त्री गौतमले भदौ २३ गतेको घटनाजस्तो नियति अब कुनै नागरिक, परिवार वा आमाले भोग्न नपर्ने वातावरण निर्माण गर्नुपर्ने बताइन्। उनले लोकतन्त्रमा समेत नागरिकमाथि गोली चलेको घटना दुःखद भएको उल्लेख गर्दै आगामी दिनमा त्यस्तो अवस्था दोहोरिन नहुनेमा जोड दिइन्।
भ्रष्टाचार र सुशासनविरुद्ध आवाज उठाउँदा नागरिकमाथि गोली चलाइएको उल्लेख गर्दै उनले भदौ २३ गते राज्यले गरेको दमनकै कारण भदौ २४ गतेको घटना निम्तिएको बताइन्। यद्यपि, ती दुई दिनका घटनालाई एउटै रूपमा हेर्न नहुने उनको भनाइ थियो।
सरकारको संरचनाभित्र काम गर्ने तौरतरिका बुझ्न केही समय लागेको स्वीकार गर्दै मन्त्री गौतमले आन्दोलनका पीडितहरूको पीडा आफूहरूले पनि महसुस गरेको बताइन्।
उनले जेन–जी समुदायभित्रै विभाजन र दोषारोपण बढे आन्दोलनका विरोधीहरूले त्यसबाट फाइदा उठाउने चेतावनी दिइन्। शहीद परिवार, घाइते तथा आन्दोलनकारीलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै उनले भनिन्, ‘हामी एकआपसमै लड्न थाल्यौँ, एकआपसमै दोषारोपण गर्न लाग्यौँ भने विरोधीहरूले स्पेस पाउँछन्। त्यसकारण सही मान्छेहरू एक ठाउँमा उभिइरहनुपर्छ।’
मन्त्री गौतमले आन्दोलनपछिको निर्वाचनमार्फत जनताले आफ्नो नेतृत्व रोजेकाले वर्तमान सरकार नागरिकको आवाज सुन्न तयार रहेको बताइन्। सरकार गठन भएको करिब पाँच महिनामा सरकार सञ्चालन सहज नभएको उल्लेख गर्दै उनले प्रतिनिधिसभामा पर्याप्त संख्या भए पनि संवैधानिक संरचनाका कारण कानुन निर्माणमा चुनौती रहेको स्पष्ट पारिन्।
माग सम्बोधनमा ढिलाइ हुँदा पीडित तथा आन्दोलनकारीको धैर्यता टुट्न सक्ने सम्भावना रहेको स्वीकार गर्दै उनले सरकार सफा नियतका साथ काम गरिरहेको र केही समय संयम अपनाउन आग्रह गरिन्।
‘यो सरकार सफा नियतसहित आएको छ। हाम्रा शहीद र घाइते साथीहरूले देखेका हरेक सपनाहरू पूरा गर्न यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। यो सरकारमाथि विश्वास राखौँ, यो सरकारले गर्छ,’ मन्त्री गौतमले भनिन्।



