काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात रकम ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी कोषको दैनिक जम्मा तथा स्थिति विवरणअनुसार भदौ २३ गते साँझ ५ बजेसम्म कोषका विभिन्न खाताहरूमा उक्त रकम सङ्कलन भएको हो।
हाल कोषअन्तर्गतका ९ वटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ र २ वटा डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ। डलरलाई प्रतिडलर रु. १५०.८८ का दरले रूपान्तरण गर्दा कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ।
रसुवा–भोटेकोशी बाढीपछिको अवधिमा मात्रै कोषमा ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ नगद र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर सङ्कलन भएको छ। यो रकम विपद्अघि कोषमा रहेको २ अर्ब ८ करोड २४ लाख रुपैयाँ मौज्दातबाहेकको नयाँ सहयोग हो। भदौ २३ गते एकै दिन मात्रै कोषमा ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर प्राप्त भएको छ।
बाढी तथा विपद् प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्रता दिन भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ हस्तान्तरण भइसकेको छ। विपद्को यस कठिन घडीमा प्रभावित परिवारप्रति निरन्तर सहयोग पुर्याउने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण व्यक्ति, सङ्घ-संस्था तथा निकायहरूप्रति अर्थ मन्त्रालयले हार्दिक आभार व्यक्त गरेको छ। साथै, सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूलाई आधिकारिक वेब पोर्टल donate.gov.np मार्फत मात्र योगदान गर्न आग्रह गरिएको छ।




