CLI
Global College

निर्माण लागत तीन वर्षयताकै उच्च, इँटा र विद्युतीय तारको मूल्य सबैभन्दा महँगो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा देशको समग्र निर्माण लागतमा उल्लेख्य वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा यस अवधिमा निर्माण क्षेत्रको मूल्य सूचकाङ्क ३.८६ प्रतिशतले बढेको छ, जुन पछिल्लो तीन वर्षको चौथो त्रैमासिक अवधिहरुमध्येकै सबैभन्दा उच्च वार्षिक वृद्धि हो। चौथो त्रैमासमा मात्रै निर्माण क्षेत्रको इनपुट मूल्य सूचकाङ्क अघिल्लो त्रैमासको १५७.६ अङ्कबाट १.७८ प्रतिशतले बढेर १६०.४ अङ्क पुगेको छ, जुन चालु आर्थिक वर्षकै सबैभन्दा ठूलो त्रैमासिक वृद्धि हो।

समीक्षा अवधिमा निर्माण सामग्रीतर्फ विद्युतीय तार र इँटाको मूल्यमा उच्च वृद्धि देखिएको छ। एक वर्षको अवधिमा विद्युतीय तारको मूल्य ३४.३६ प्रतिशत र इँटाको मूल्य १७.९४ प्रतिशतले बढेको छ भने इँटा, ढुङ्गा तथा कङ्क्रिट समूहको समग्र मूल्य ९.७९ प्रतिशतले उकालो लागेको छ। यसैगरी बिटुमिनको मूल्य ११.४३ प्रतिशत, जीआई पाइप तथा फिटिङको ७ प्रतिशत, पोलिथिन पाइप तथा फिटिङको ५.८६ प्रतिशत, माटोको ४.०४ प्रतिशत र बालुवाको मूल्य २.९२ प्रतिशतले बढेको छ। अर्कातर्फ सिमेन्टको मूल्य ०.४३ प्रतिशत, फलामे छड तथा बिलेटको २.१९ प्रतिशत, काठको ६.४९ प्रतिशत, गाबियन वायरको ३ प्रतिशत र ह्युम पाइपको मूल्य १२ प्रतिशतले ओरालो लागेको छ।

निर्माण क्षेत्रको कुल लागतमा २९.५० प्रतिशत भार ओगट्ने मानव संसाधन (श्रमिकको ज्यालादर) को वार्षिक औसत सूचकाङ्क पनि २.९२ प्रतिशतले बढेको छ। तथ्याङ्क अनुसार निर्माण क्षेत्रमा सबैभन्दा धेरै हिस्सा ओगट्ने सामान्य श्रमिक (लेबर) को ज्यालादर वार्षिक औसत ३.१२ प्रतिशतले बढेको छ भने दक्ष प्राविधिकतर्फ पेन्टरको ज्यालादर सबैभन्दा बढी ५.०५ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी सब-इन्जिनियरको ३.८५ प्रतिशत, सुपरभाइजरको ३.४५ प्रतिशत, इन्जिनियरको २.५७ प्रतिशत, डकर्मीको २.५० प्रतिशत, सिकर्मीको २.३२ प्रतिशत र इलेक्ट्रिसियनको ज्यालादर २.०९ प्रतिशतले बढेको छ। निर्माण सामग्रीको अनपेक्षित मूल्य वृद्धि र श्रमिक ज्यालादरमा भएको यो सर्वपक्षीय बढोत्तरीले आवासीय तथा सार्वजनिक पूर्वाधार निर्माणको कुल लागत बढाएको कार्यालयले जनाएको छ।

Leave Your Comment

Related News