काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्सका तर्फबाट २१ लाख रुपैयाँ सहयोग गरिएको छ । प्रभावित नागरिकहरूलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको हो ।
यसैगरी, एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीहरूबाट समेत प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि सामूहिक रूपमा करीब ३५ लाख रुपैयाँसहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।
बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लाहरूको पुनर्निर्माण तथा दीर्घकालीन विकासमा समेत आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता कम्पनीहरूले व्यक्त गरेका छन् । प्रभावित क्षेत्रको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन भविष्यमा लगानीका अवसर विस्तार गर्नुका साथै शाखा सञ्जाल विस्तारमार्फत पूँजी बजार र वित्तीय सेवाको पहुँचलाई सहज बनाउने पहल गरिने जनाइएको छ ।
यस पहलबाट प्रभावित जिल्लाका परिवार तथा समुदायलाई वित्तीय सेवासँग जोड्न र स्थानीय आर्थिक विकासमा दीर्घकालीन योगदान पुर्याउन सहयोग पुग्ने विश्वास लिइएको छ । साथै, बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर परिवारका तर्फबाट श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।



