काठमाडौं ।भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशूली नदीले कटान गरी सडक अवरुद्ध भए पनि काठमाडौँ उपत्यकामा एलपी ग्यासको अभाव हुन नदिने व्यवस्था मिलाइएको छ। नेपाल एल.पि. ग्याँस उद्योग संघ ले प्रेस विज्ञप्ति जारी गर्दै बाटो अबरुद्ध भएर ग्यास बुलेट आउन नसकेपछि तराईका जिल्लाहरूबाट सिलिन्डर रिफिल गरी उपत्यकामा आपूर्ति सुरु गरिएको जनाएको छ।
संघका अनुसार नेपाल आयल निगमको निर्देशनबमोजिम काठमाडौँ, काभ्रे र धादिङका ग्यास उद्योगका खाली सिलिन्डरहरू बारा, पर्सा, चितवन, धनुषा र नवलपरासीका उद्योगहरूमा लगेर रिफिलिङ गरी काठमाडौँ उपत्यकामा बिक्री वितरणको व्यवस्था मिलाइएको हो।
काठमाडौँ उपत्यकाको दैनिक माग करिब ४०,००० सिलिन्डर रहेकोमा पछिल्लो तीन दिनदेखि सोही परिमाणमा तराईमा सिलिन्डर रिफिल गरी बिक्री वितरण भइरहेको संघले स्पष्ट पारेको छ। आगामी दिनमा पनि साविकझैँ विक्रेताहरूमार्फत निरन्तर आपूर्ति सहज बनाइने भएकाले आम सर्वसाधारणलाई एलपी ग्यासको अनावश्यक सञ्चय (होर्डिङ) नगर्न र आवश्यकताअनुसार मात्र खरिद गर्न संघले हार्दिक अनुरोध गरेको छ।



