काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नुवाकोटको देविघाटमा बेलिब्रिज निर्माण गरेकोमा नेपाली सेनालाई धन्यवाद दिएका छन् ।
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बिहीबार देविघाट पुगेका देउवाले त्यहाँ नेपाली सेनाका अधिकारी तथा सुरक्षाकर्मीसँग भेट गर्दै बाढीका कारण प्रभावित नागरिकको आवतजावत सहज बनाउन बेलिब्रिज निर्माण गरेकोमा धन्यवाद दिएका हुन् ।
भेटका क्रममा देउवाले नेपाली सेनाले विपद्को समयमा नेपाली जनतालाई साथ दिएको भन्दै प्रशंसा गरे । उनले भने, ‘धेरै–धेरै धन्यवाद है । नेपाल आर्मीले नेपाली जनता दुःखमा परेको बेलामा साथ दिएर बेलिब्रिज बनाइदिएको छ । नुवाकोटका दाजुभाइ तथा माथिल्लो क्षेत्रका मानिसहरू आवतजावत गर्न सकून् भनेर यो काम गर्नुभएको छ । म धन्यवाद दिन्छु ।’
देउवाले नेपाली सेनालाई आगामी दिनमा पनि अझ राम्रो काम गर्न आग्रह गरे ।
देउवा बिहीबार बिहान कांग्रेस नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मोहन बस्नेत, गुरु बराल र कुन्दनराज काफ्लेलगायतसँगै नुवाकोट पुगेका हुन् । उनीहरूले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।



