CLI
Global College

डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज

काठमाडौं । दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार डेढ महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको हो । नेपाल एयरलाइन्सको १९ सिटे जहाजमा बिहीबार काठमाडौंँबाट आठ जना र दाङबाट चार यात्रुले सेवा लिएका थिए ।

मौसमका कारण अनियमित भएको दाङ–काठमाडौँ हवाईसेवा अब भने नियमित हुने वरिष्ठ अधिकृत भुुसालको भनाइ छ । “मौसमले सेवा अनियमित थियो, अब नियमित हुन्छ”, उनले भने ।

उनका अनुसार अब हप्तामा आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार गरी चार दिन सेवा प्रदान गरिनेछ । हाल हवाई भाडा रु १२ हजारबराबर छ । हवाई सेवा बिहान ९ः०० देखि ११ः०० बजेको बीचमा उपलब्ध हुने भुसालले बताए ।

टरिगाउँमा हाल ७५० मिटरमात्रै धावनमार्ग छ । जहाँ १९ सिटे जहाजमात्रै बस्न सक्छ । कम क्षमताको जहाज बस्ने र त्यो पनि अनियमित हुने भएकाले यस क्षेत्रका यात्रु नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । सो विमानस्थलमा ठूला जहाज बस्नेगरी धावनमार्ग विस्तारका लागि पटकपटक आवाज उठ्दै आएको भए पनि त्यसले सार्थकता पाउन सकेको छैन । विसं २०११ मा स्थापना भएको विमानस्थल विस्तार हुनसकेको छैन । चालु आर्थिक वर्षमा विमानस्थल स्तरोन्नतिका रु २५ करोड बजेट विनियोजन भएको छ ।

टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण

दाङको राप्ती गाउँपालिकाले वडा कार्यालयसम्म पुग्न नसक्नेलाई घरमै पुगेर सेवा प्रदान गर्न थालेको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई वडा कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुने भएकाले यस्तो नवीकरण अभियान थालिएको हो ।

पञ्जीकरण शाखा प्रमुख नारायणबहादुर राउतका अनुसार सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा टोलटोलमै पुगेर नवीकरण गर्न थालिएको हो । पालिकाको विकट क्षेत्रका रूपमा रहेको वडा नं ९ बाट यो अभियान सुरुआत गरिएको छ । आवश्यकताअनुसार अन्य वडाका गाउँ तथा टोलमा पनि अभियान सञ्चालन गरिने उनको भनाइ छ ।

सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा राष्ट्रिय परिचयपत्रसहित लाभग्राही स्वयं उपस्थित हुनुपर्नेलगायतका कारणले कतिपयलाई समस्या हुने गरेको छ । सोही कारण यस्तो अभियान थालिएको शाखा प्रमुख रावतले बताए । घरमै पुग्दा लाभग्राहीको अवस्था बुझ्नुका साथै आवश्यक कागजात तथा प्रक्रियाबारे जानकारी गराउने गरिएको उहाँको भनाइ छ । सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि असोज मसान्तसम्म समय छ ।

 

Leave Your Comment

Related News