CLI
Global College

सांसद तोसिमा कार्कीद्वारा संसदमा स्वास्थ्य प्रणालीको तीव्र आलोचना, ‘नो डिनायल इन लेबर’ लागू गर्न माग

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसर नजिकै सडकपेटीमा एक आमाले बच्चा जन्माउनु परेको घटनालाई लिएर सांसद डा. तोसिमा कार्कीले प्रतिनिधि सभामा सरकार र समग्र स्वास्थ्य प्रणालीको तीव्र आलोचना गरेकी छन्। संसद्‌मा विशेष समय लिएर बोल्दै डा. कार्कीले संविधानमा लेखिएको सुरक्षित मातृत्वको हक र गरिब नागरिकले भोग्नुपरेको वास्तविक नियतिबीच ठूलो खाडल रहेको बताइन्। अस्पताल पुगेकी सुत्केरी बबिता पासवानले आवश्यक प्रयोगशाला तथा रगत जाँच गराउने रकम नहुँदा अस्पताल बाहिरै सडकपेटीमा बच्चा जन्माउनु परेको घटनाले देशको मातृत्व सेवा र स्वास्थ्य प्रणालीको वास्तविक स्थिति उदाङ्गो पारेको उनको भनाइ थियो।

डा. कार्कीले प्रसव पीडामा अस्पताल पुगेकी बिरामीको तत्काल प्राथमिक स्वास्थ्य परीक्षण (टriage) र क्लिनिकल मूल्याङ्कन किन गरिएन भन्दै कडा प्रश्न उठाइन्। ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत संस्थागत प्रसुति निःशुल्क भनिए तापनि भर्ना हुनुअघि गरिने भिडियो एक्स-रे तथा रगत जाँच जस्ता अनिवार्य सेवाका लागि रकम मागिने परिपाटीले कार्यक्रमको प्रभावकारितामाथि नै गम्भीर प्रश्न खडा गरेको उनले बताइन्। स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले सुरु गरेको छानबिन केवल दोषीलाई कारबाही गर्नेमा मात्र सीमित नभई भविष्यमा यस्ता घटना दोहोरिन नदिने ठोस समाधान खोज्नतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिइन्।

यस समस्याको समाधानका लागि सांसद डा. कार्कीले संसद्‌मा ठोस नीतिगत सुधारका उपायहरू पेस गरेकी छन्। उनले पैसा भए/नभएको नहेरी प्रसव पीडामा रहेका कुनै पनि महिलालाई तत्काल अनिवार्य भर्ना र उपचार सुनिश्चित गर्ने ‘नो डिनायल इन लेबर’ प्रोटोकल तत्काल लागू गर्न माग गरिन्। साथै, आमा सुरक्षा कार्यक्रमलाई संशोधन गरी गर्भावस्थाका सम्पूर्ण जाँच, औषधि र भिडियो एक्स-रे पूर्ण रूपमा निःशुल्क बनाउनुपर्ने, प्रत्येक अस्पतालमा २४ सै घण्टा सामाजिक सेवा एकाइ सक्रिय राख्नुपर्ने र बिरामीको भर्नादेखि उपचारसम्मको विस्तृत ‘म्याटर्नल केयर अडिट’ गर्ने प्रणाली स्थापना गर्नुपर्ने उनको सुझाव छ। सम्बोधनको अन्त्यमा उनले “राज्य खोज्दै बबिता अस्पतालसम्म पुगिन्, तर राज्यको सेवा बबितासम्म पुगेन” भन्दै हरेक विपन्न नागरिकसम्म राज्यको भरपर्दो उपस्थिति हुनुपर्ने धारणा राखिन्।

Leave Your Comment

Related News