CLI
Global College

३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल गर्न निजी क्षेत्र सक्षम छ : डाँगी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्र सक्षम रहेको बताएका छन्।

इप्पानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले जलविद्युत् आयोजनामा निजी क्षेत्रले ठूलो लगानी गरिरहेको अवस्थामा आयोजना निर्माण गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्नु दुःखद भएको बताए। जलविद्युत् क्षेत्रलाई मुलुकको समृद्धिको आधारका रूपमा स्थापित गर्न यसको आवश्यकता तथ्य र प्रमाणका आधारमा स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए।

डाँगीका अनुसार नेपालमा हालसम्म करिब ४ हजार ३ सय मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन्। तीमध्ये झन्डै ३ हजार ५ सय मेगावाट निजी क्षेत्रको योगदान रहेको उनले बताए। त्यस्तै, ६ हजार ४ सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहेकाले करिब १० हजार ५ सय मेगावाट विद्युत् उत्पादनको आधार तयार भइसकेको उनको भनाइ छ।

विगतमा साना जलविद्युत् आयोजनाका लागि समेत वित्तीय व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको भए पनि अहिले स्वदेशी पुँजीबाटै ४ सय ४० मेगावाटसम्मका आयोजना निर्माण हुन थालेको उनले बताए।

बाँकी २० हजार मेगावाट विद्युत् उत्पादनका लागि निजी क्षेत्रका ५८ वटा ठूला समूह सक्रिय रहेको उल्लेख गर्दै डाँगीले ती समूहले औसत ४ देखि ५ सय मेगावाटका आयोजना निर्माण गरे लक्ष्य पूरा गर्न सकिने बताए।

हाल प्रतिव्यक्ति विद्युत् खपत करिब ४८० किलोवाट घण्टा रहेको भन्दै उनले आगामी दिनमा यसलाई तीन गुणाले बढाएर १ हजार ५ सय किलोवाट घण्टा पुर्‍याउनुपर्ने बताए।

विद्युत् निर्याततर्फ पनि ठूलो सम्भावना रहेको उनको भनाइ छ। उनका अनुसार बंगलादेशमा ५ हजार मेगावाट र भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको छ। १५ हजार मेगावाट विद्युत् निर्यात गर्न सके हालको औसत मूल्यका आधारमा ठूलो विदेशी मुद्रा आर्जन गर्न सकिने उनले बताए।

डाँगीका अनुसार १२ हजार मेगावाट क्षमताका आयोजनाबाट विद्युत् निर्यात गर्दा हालसम्म २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी भएको छ। यही अनुपातमा १५ हजार मेगावाट विद्युत् निर्यात गर्न सके करिब ३ खर्ब ६६ अर्ब रुपैयाँ विदेशी मुद्रा मुलुकमा भित्र्याउन सकिने उनले दाबी गरे।

उनले जलविद्युत् आयोजनाको निर्माणप्रति देखिएको निराशा चिर्न सरकार, निजी क्षेत्र र सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।

Leave Your Comment

Related News