काठमाडौं । पछिल्लो दुई दिनमा भारतबाट नेपालमा ३ लाख ४५ हजार ८५ सिलिन्डर बराबरको एलपी ग्यास आयात भएको छ।
नेपाल आयल निगमका अनुसार भदौ २५ र २६ गते गरी दुई दिनमा ४ हजार ९००.२ मेट्रिक टन ग्यास नेपाल भित्रिएको हो।
भदौ २५ गते मात्रै ३ हजार ७७.९ मेट्रिक टन अर्थात् २ लाख १६ हजार ७५३ सिलिन्डर ग्यास आयात भएको निगमले जनाएको छ। यस्तै, भदौ २६ गते १ हजार ८२२.३ मेट्रिक टन अर्थात् १ लाख २८ हजार ३३२ सिलिन्डर ग्यास नेपाल भित्रिएको छ।
निगमका अनुसार दुई दिनमा सबैभन्दा धेरै ग्यास वीरगन्ज नाकाबाट आयात भएको छ। वीरगन्जबाट २ हजार ९२६.११ मेट्रिक टन ग्यास भित्रिएको छ।
त्यसैगरी भैरहवा नाकाबाट ७०२.५९ मेट्रिक टन, विराटनगरबाट ६५१.६३ मेट्रिक टन, नेपालगन्जबाट ५३०.८३ मेट्रिक टन र मेची नाकाबाट ८९.०४ मेट्रिक टन ग्यास आयात भएको छ।
निगमले सीमा नाकाबाट भइरहेको ग्यास आयातले बजारमा एलपी ग्यासको आपूर्ति सहज बनाउन सहयोग पुग्ने जनाएको छ। पछिल्लो समय बजारमा ग्यासको अभाव देखिएपछि निगमले आपूर्ति बढाएको हो।
यद्यपि, ठूलो परिमाणमा ग्यास नेपाल भित्रिए पनि उपभोक्ताले भने सहज रूपमा सिलिन्डर पाउन नसकेको गुनासो गरेका छन्। बजारमा सिलिन्डरभन्दा पनि ग्यास पाउनका लागि आवश्यक कुपन लिनै कठिन भएको उपभोक्ताको गुनासो छ।




