CLI
Global College

पाँच वाणिज्य र तीन विकास बैंकको लाभांश घोषणा, कुनको बोनस र नगद लाभांश कति? (सूचीसहित)

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ सकिनेबित्तिकै बैंकहरुले लाभांश घोषणा गरिरहेका छन्। अहिलेसम्म ५ वाणिज्य बैंक र ३ विकास बैंकहरुले लाभांश घोषणा गरेका छन्। घोषित लाभांश २० प्रतिशतसम्म छ। यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन्।

हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा माछापुच्छ्रे बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक र एभरेष्ट बैंक हुन्।

माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकले साधारण शेयरतर्फ ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित बोनस शेयरका लागि कुल रकम ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँ बराबर तथा नगद लाभांशका लागि ३६ करोड ५० लाख ८६ हजार ३४७ रुपैया मुख्य रहेको छ। उक्त रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।

यता, नबिल बैंकले कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित बोनस शेयरका लागि कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६.४६ रुपैयाँ बराबर तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६.७६ रुपैयाँ रहेको छ। उक्त रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४ रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश रहेका छन्।

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ छ। साधारण सभा आउँदो असोज १२ गते आयोजना गर्ने निर्णय गरिएको छ। सभा काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ। लाभांश र सभा प्रयोजनका लागि बैंकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो बैंकको सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

ग्लोबल आइएमई बैंकले हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। बैंकले आउँदो असोज १६ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बिहान ९ बजेदेखि सुरु हुनेछ। लाभांश र सभा प्रयोजनका लागि बैंकले असोज ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

यता, विकास बैंकहरुतर्फ भने हालसम्म ३ बैंकले लाभांश घोषणा गरेका छन्।

गरिमा विकास बैंकले चुक्तापुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७.२२ रुपैयाँको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम चुक्तापुँजीको साढे १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। प्रस्तावित बोनस शेयरका लागि कुल रकम १४ करोड ९३ लाख ६२ हजार ७४०.२२ रुपैयाँ बराबर तथा नगद लाभांशका लागि २४ करोड ३६ लाख ९७ हजार १०२.४७ रुपैयाँ रहेको छ। उक्त रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।

त्यस्तै कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिदेखि असार मसान्तसम्म समानुपातिक रुपमा ९ प्रतिशत र साधारण शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरेको हो।

Leave Your Comment

Related News