CLI
Global College

कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन सडकको ग्रेड मिलाउने काम तीव्र पारिएको छ।

सडक सम्याउने काम भइरहेको र केहीबेरमा खाली ग्यास बुलेट गुडाएर सडकको अवस्था तथा भारवहन क्षमता परीक्षण गर्ने तयारी गरिएको छ। मौसमले साथ दिए आजैदेखि ग्यास बुलेट र हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई आंशिक रूपमा सञ्चालन गर्न सकिने आयोजनाले जनाएको छ।

कृष्णभीरमा अहिले दुईवटा बुलडोजर प्रयोग गरी सडक सम्याउने तथा सवारीसाधन आवतजावतका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम भइरहेको छ। ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ।

धादिङका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले कृष्णभीर पुगेर स्थलगत निरीक्षणसमेत गरेको छ। सडक खुलाउन विभिन्न निकाय र संयन्त्र परिचालन गरिएको छ।

तत्कालका लागि कृष्णभीरमा रोकिएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र सञ्चालन गर्न मिल्ने गरी सडक तयार पार्ने प्रयास भइरहेको छ। सडक चिल्लो र सम्याइएको देखिए पनि पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन ग्राभेलिङ र कम्प्याक्सनलगायतका काम पूरा गर्नुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ।

गत भदौ १० गते आएको त्रिशूली नदीको बाढीले कृष्णभीरको सडक कटान गरेपछि पृथ्वी राजमार्गको उक्त खण्ड अवरुद्ध हुँदै आएको छ।

Leave Your Comment

Related News