काठमाडौं । बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय भूमिका निभाउँदै आएको आर्या फार्मा ल्याब प्रालिले नुवाकोटमा स्वास्थ्य सेवा विस्तार गर्न चितवन मेडिकल कलेजसँग सहकार्य गरेको छ।
यसअघि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री सहयोग गरेको थियो। सोही अभियानलाई निरन्तरता दिँदै आर्या फार्मा ल्याबले अब बाढी प्रभावित समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सात दिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो।
आर्या फार्मा ल्याब र चितवन मेडिकल कलेजबीच भएको सहकार्य अनुसार विदुर नगरपालिकाका बाढी प्रभावित नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविर विदुर नगरपालिका–७ स्थित सलोचना स्कुल, वडा नं. ५ स्थित त्रिशूली विद्यालय तथा वडा नं. ९ स्थित भैरवडाँडामा सञ्चालन गर्ने योजना छ।
शिविरमा स्थानीयवासीलाई विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, आवश्यक औषधि वितरण तथा विभिन्न रोगहरूको परीक्षण सेवा निःशुल्क उपलब्ध गराइने जनाइएको छ । थप उपचार आवश्यक पर्ने बिरामीको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था समेत मिलाइने कम्पनीले जनाएको छ ।
बाढीपछिको अवस्थामा धेरै प्रभावित परिवार स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक तथा व्यवहारिक कठिनाइमा रहेको अवस्थालाई ध्यानमा राख्दै समुदायमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको आर्या फार्मा ल्याबले जनाएको छ।
कम्पनीका अनुसार औषधिजन्य सामग्री सहयोगदेखि प्रभावित बस्तीमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्ने अभियानसम्मका गतिविधिले विपढ़को कठिन समयमा प्रभावित परिवारसँगै उभिने र उनीहरूको स्वास्थ्य तथा पुनःस्थापनाको यात्रामा साथ दिने प्रतिबद्धता झल्काउँछन्।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आर्या फार्मा ल्याबले निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत राहत र स्वास्थ्य सेवामार्फत सहयोगलाई निरन्तरता दिएको जनाएको छ।



