इन्धनमा सहुलियत दिइ पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने

काठमाडौं । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि पूर्ण राम्ररी सञ्चालनमा आउन नसकेका पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा चलाउन सरकारले विभिन्न सहुलियत दिने भएको छ ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न टिकटदेखि इन्धनसम्म सहुलियत दिन लागिएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले दुइटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलित दिन लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले दुइटा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ र इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाएको बताए ।

मन्त्री पाण्डेले कार्यदलले दिएको सुझाव र एयरलाइन्सहरुले खोजेको सहुलियतका आधारमा सरकारले ग्राउन्ड ह्यान्डलिङमार्फत् लिने सेवा शुल्क आगामी २०८३ साल भदौसम्म नलिने योजना बनाएको बताए । उनले सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त अवधिमा नलिने गरी सहुलियत दिन लागेको बताए ।

उनले सरकारले हवाई टिकटमा लगाउने गरेको भ्याट पनि आगामी २०८३ भदौसम्म नलिने योजना रहेको बताए । इन्धनको विषय उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा इन्धनको मूल्य भन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्ययोजना बनेको उल्लेख गरे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार