काठमाडौं । रसुवा-भोटेकोशी बाढीपछिको जारी खोज, उद्धार तथा राहतको पछिल्लो अवस्थाबारे केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा, नुवाकोट तथा धादिङका जिल्ला कमाण्ड पोष्टहरूबीच मंगलबार विस्तृत छलफल भएको छ।
भर्चुअल माध्यमबाट आयोजित छलफलमा सम्बन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिका परिवारहरूलाई मृत्यु दर्ता प्रक्रिया सहज बनाइनुपर्ने माग प्रस्तुत गरेका छन्। साथै, बालबालिकाको संरक्षण तथा व्यवस्थापनका लागि स्पष्ट नीतिगत निर्णय हुनुपर्ने र प्रभावित क्षेत्रमा खाद्यान्न एवम् एलपी ग्यास ढुवानीका लागि तत्काल ‘कनेक्टिभिटी’ (सडक तथा पहुँच मार्ग) स्थापित गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।
यसैबीच, आजै बसेको केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकमा खोज तथा उद्धार कार्यको समयसीमा (Exit Time), प्रभावित परिवारका लागि अस्थायी आवासको व्यवस्थापन, लाभग्राहीको पहिचान तथा सूचना प्रणालीमा दर्ता (इन्ट्री) गर्ने विषयमा गहन छलफल भएको छ। यसका साथै विकास साझेदार, निजी क्षेत्र र विभिन्न सङ्घसंस्थाको सहयोग समन्वय गर्दै पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यलाई कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल भएको छ।
उता, रसुवा-भोटेकोशी बाढीपछि खोज, उद्धार तथा राहतको प्रभावकारी समन्वयका लागि गठित परिचालन टोलीको बैठक पनि आज पुन: बसेको छ। उक्त बैठकमा पछिल्लो २४ घण्टामा भएका उद्धार तथा राहतसम्बन्धी प्रगतिको समीक्षा गरिनुका साथै क्षेत्रगत रूपमा देखा परेका चुनौतीहरूको समाधानका लागि आवश्यक रणनीतिबारे छलफल गरिएको छ।



