CLI
Global College

वाणिज्य बैंकहरुको असोज महिनाको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी असोज महिनाका लागि आफ्नो नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन्। प्राप्त तथ्यांक अनुसार भदौको तुलनामा असोज महिनामा निक्षेपको औसत ब्याजदर घटेको देखिन्छ।

बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशत विन्दुबाट घटेर असोजमा ४.०८९५ प्रतिशत विन्दुमा झरेको छ। त्यस्तै, संस्थागत निक्षेपको औसत दर पनि ३.०८१ प्रतिशत विन्दुबाट घटेर असोजमा ३.०६६५ प्रतिशतमा झरेको छ।

असोजमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर सबैभन्दा धेरै एभरेस्ट बैंकले घटाएको छ। बैंकले भदौमा ४.०५ प्रतिशत रहेको व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ०.५५ प्रतिशत विन्दुले घटाएर ३.५० प्रतिशतमा झारेको छ। एभरेस्टले संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पनि ३.५० प्रतिशतबाट ०.२५ प्रतिशत विन्दुले घटाएर ३.२५ प्रतिशत कायम गरेको छ।

यता, नबिल बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.३० प्रतिशतले घटाएको छ। बैंकको गत महिना व्यक्तिगततर्फ ४.५५ प्रतिशत रहेकोमा यो महिना घटाएर ४.२५ प्रतिशतमा झारेको छ।

त्यसैगरी, संस्थागत निक्षेपतर्फको ब्याजदर ०.२५ प्रतिशतले घटाउँदै सिटिजन्स बैंकले २.७५ प्रतिशत कायम गरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ३.७३ प्रतिशत कायम गरेको छ।

असोजमा संस्थागत निक्षेपको अधिकतम ब्याजदर बढाउने बैंक भने सानिमा मात्रै हो। बैंकले संस्थागत मुद्दती निक्षेपको दर भदौको ३.३० प्रतिशतबाट ०.२१ प्रतिशत विन्दुले बढाएर ३.५१ प्रतिशत पुर्‍याएको छ। व्यक्तिगत मुद्दती निक्षेपतर्फ भने सानिमाले ४.५० प्रतिशतकै दरलाई निरन्तरता दिएको छ।

Leave Your Comment

Related News