CLI
Global College

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ रंग र भेरियन्टमा

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले नेपाली बजारमा ‘हन्टर ३५०’ को नयाँ भेरियन्ट र नयाँ रंग सार्वजनिक गरेको छ । कम्पनीले नयाँ ‘टार्माक ब्ल्याक’ भेरियन्टसँगै टप भेरियन्टमा ‘मुम्बई येलो’ र ‘मुनसट ह्वाइट’ गरी दुई नयाँ आकर्षक रंग थप गरेको हो ।

नयाँ भेरियन्टमा एलोय ह्विल, डिजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस तथा सिंगल च्यानल एबीएस लगायत सुविधा छन् । हन्टर ३५० को सहज राइडिङ, चुस्त ह्यान्डलिङ र ‘प्योर मोटरसाइक्लिङ’ को मूल विशेषतालाई भने यसमा पनि निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।

नेपालमा अघिल्लो वर्ष मात्र सार्वजनिक भएको हन्टर ३५० आफ्नो कम्प्याक्ट डिजाइन, नियो रेट्रो लुक र सहज राइडिङ अनुभवका कारण नयाँ पुस्ताका राइडर माझ लोकप्रिय हुँदै आएको दावी कम्पनीको छ ।

नेपाली बजारमा टार्माक ब्ल्याक भेरियन्टको मूल्य ४,८७,००० तथा मुम्बई येलो र मुनसट ह्वाइट रंगका टप भेरियन्टको मूल्य रु. ५,११,००० (एक्स–शोरुम) तोकिएको छ । नयाँ मोडलहरूको बुकिङ तथा बिक्री देशभरका अधिकृत रोयल इन्फिल्ड डिलरमार्फत आजदेखि सुरु भएको हो ।

टार्माक ब्ल्याकमा नयाँ भेरियन्टलाई दैनिक प्रयोगमा सहज र पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको कम्पनीको भनाई छ । यसमा हन्टरको मौलिक रोडस्टर डिजाइनलाई कायम राख्दै एलोइ ह्विलस्, राउन्ड ह्यालोजन हेडल्याम्प, डिजी एनालग इन्स्टुमेन्ट क्लस्टर, रोटरी स्विचगियरलगायत समावेश गरिएको छ । त्यस्तै, सिंगल च्यानल एबीएस र स्लिप एन्ड एसिस्ट क्लच पनि यसका प्रमुख विशेषता हुन् । यसले गियर परिवर्तनलाई सहज बनाउने कम्पनीको भनाइ छ ।

हन्टर ३५० को टप भेरियन्टमा थपिएका दुई नयाँ रंगले ग्राहकलाई आफ्नो रुचि र शैलीअनुसार मोटरसाइकल छनोट गर्ने थप अवसर दिनेछ । मुम्बई एलो मुम्बईको कला, चलचित्र र जीवन्त शहरी वातावरणबाट प्रेरित रंग हो ।

चम्किलो पहेँलो फिनिसले मोटरसाइकललाई थप आकर्षक र युवा लुक दिएको छ । त्यस्तै, मुनसट ह्वाइटमा ‘ओरायन’ अर्थात् शिकारी नक्षत्रबाट प्रेरित ग्राफिक्स र आकाशीय तत्व प्रयोग गरिएको छ । यसले हन्टर ३५० लाई फरक र व्यक्तिगत पहिचान दिने कम्पनीले जनाएको छ ।

रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यदविन्दर सिंह गुलरियाले हन्टर ३५० नेपालमा नयाँ पुस्ताका राइडरको रोजाइ बन्दै गएको बताए । उनका अनुसार यसको डिजाइन, चुस्त ह्यान्डलिङ र दैनिक प्रयोगमा सहजताले लोकप्रियता बढाएको छ ।

नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभका निर्देशक मेघ राज पौडेलले पनि हन्टर ३५० ले नेपाली राइडरमाझ राम्रो सम्बन्ध बनाएको बताए ।

सन् १९०१ देखि निरन्तर उत्पादन हुँदै आएको रोयल इन्फिल्ड विश्वकै पुरानो मोटरसाइकल ब्रान्डमध्ये एक हो । बेलायतबाट सुरु भएको यसको उत्पादन सन् १९५५ देखि भारतको मद्रासमा हुँदै आएको छ । सहज राइडिङ, आकर्षक डिजाइन र व्यक्तिगत शैलीलाई प्राथमिकता दिने रोयल इन्फिल्डले आफ्नो अवधारणालाई ‘प्योर मोटरसाइक्लिङ’ नाम दिएको छ ।

Leave Your Comment

Related News