काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको भदौ ३१ गते साँझ ७ बजेसम्मको विवरणअनुसार रसुवा बाढीका कारण कुल मृत्यु हुनेको सङ्ख्या १,४०३ पुगेको छ भने ६,१५० जना अझै बेपत्ता रहेका छन्। मानवीय क्षतिको विवरण अनुसार बाढीका कारण चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १९३, गोरखामा ७८, धादिङमा ७२, तनहुँमा ३८ र उपचारका क्रममा काठमाडौँमा २ जनाको मृत्यु भएको छ। बेपत्ता ६,१५० जनामा स्थानीय तथा अन्य जिल्लाका नागरिकका साथै ६३६ जना विदेशी नागरिकसमेत रहेका छन् भने हालसम्म सनाखत भएका १०५ वटा शवको सङ्ख्या घटाइएको छ।
हालसम्म १३,७४२ जनाको सफल उद्धार गरिएको छ भने विभिन्न १९ वटा अस्पतालमा ३४४ जना र विभिन्न सुरक्षा निकायमार्फत ९,७०० जनाको उपचार गरिएको छ। उद्धार तथा राहत सामग्री ओसारपसारका लागि नेपाली सेनामार्फत १,६०३ र प्रहरीबाट ३२० वटा हवाई उडान भरिएका छन्।
उद्धार र राहतसँगै सञ्चालनमा ल्याइएका २९ वटा होल्डिङ सेन्टरमध्ये हाल नुवाकोटमा १,१८५, रसुवामा ८१७ र धादिङमा ९४ जना रहेका छन्। होल्डिङ सेन्टरमा बस्न नचाहुने परिवारका लागि वैकल्पिक बसाइ र जीविकोपार्जनका लागि अधिकतम ६ महिनासम्म ४ जनासम्मको परिवारलाई प्रतिपरिवार मासिक रु. १५ हजार र सोभन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप रु. २ हजारका दरले नगद राहत उपलब्ध गराइने भएको छ। यस्तै, इन्धन आपूर्ति सहज बनाउन ५९ हजार लिटर डिजेल, १५ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिनुका साथै ५०२ वटा ग्यास सिलिन्डर पठाइएको छ। सडक सञ्जालतर्फ नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान गरी यातायात सञ्चालनमा ल्याइएको छ भने पहिचानका लागि डिएनए परीक्षण गराउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा २ वटा फोटो र नाता प्रमाणितसहित नमुना दिन अनुरोध गरिएको छ।



