काठमाडौं । शर्ट भिडियो प्लेटफर्म टिकटकको मातृ कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको पछिल्लो तथ्याङ्क अनुसार ४३ वर्षीय झाङले भारतीय उद्योगपति गौतम अडानीलाई पछि पार्दै यो सफलता हासिल गरेका हुन्। झाङ चिनियाँ सफ्टवेयर इन्जिनियर तथा प्रविधि उद्यमी हुन्, जसले सन् २०१२ मा बेइजिङको एक सानो फ्ल्याटबाट बाइटडान्सको स्थापना गरेका थिए। उनी विश्वप्रसिद्ध एप टिकटक र चीनमा सञ्चालित डोयिनका मुख्य सर्जक हुन्। सन् २०२१ मा बाइटडान्सको मुख्य कार्यकारी अधिकृत पदबाट राजीनामा दिए पनि कम्पनीमा उनको ठूलो शेयर स्वामित्व कायमै छ।
पछिल्लो विवरण अनुसार झाङको कुल खुद सम्पत्ति १०५ अर्ब अमेरिकी डलर नाघेको छ भने दोस्रो स्थानमा रहेका गौतम अडानीको सम्पत्ति करिब १०२ अर्ब डलर रहेको छ। सन् २०१९ मा १३ अर्ब डलर मात्र रहेको झाङको सम्पत्ति पछिल्लो पाँच वर्षमा ९२ अर्ब डलरले बढेको हो। उनको यो अकल्पनीय सम्पत्ति वृद्धिको मुख्य श्रेय आर्टिफिसियल इन्टेलिजन्सको क्षेत्रमा बाइटडान्सले गरेको तीव्र विस्तारलाई दिइएको छ। बाइटडान्सले चीनमा ‘डौबाओ’ एआई च्याटबट र भिडियो निर्माण गर्ने ‘सीडान्स’ जस्ता उपकरणहरू सफलतापूर्वक बजारमा ल्याएको छ। ब्ल्याकरक र फिडेलिटी जस्ता विश्वविख्यात लगानीकर्ता संस्थाहरूले बाइटडान्सको शेयर मूल्याङ्कन बढाएपछि झाङको सम्पत्तिमा एकै महिनामा १२ अर्ब डलर थपिएको थियो। अमेरिकामा टिकटकमाथि रहेको नियामकीय दबाबका बाबजुद एआई प्रविधिमा कम्पनीले गरेको आक्रामक लगानीले झाङलाई परम्परागत ऊर्जा र पूर्वाधार क्षेत्रका उद्योगीहरूलाई पछाडि पार्दै एसियाकै शीर्ष धनीको रूपमा स्थापित गराएको छ।



