काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राविधिक समस्याका कारण सेयर कारोबार स्थगन भएको घटनाप्रति पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेलाई असोज १२ गतेभित्र छानबिन गरी सुधारका उपायहरूसहितको प्रतिवेदन पेस गर्न कडा निर्देशन दिएको छ।
नेप्सेका ९२ वटा अनुमतिप्राप्त ब्रोकर कम्पनीहरूमध्ये ७२ व्यवसायीको सर्भर राखिएको डाटा सेन्टर (डाटा हब प्रा.लि.) मा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आई असोज ५ गतेको नियमित सेयर कारोबार स्थगित गर्नुपरेको थियो।
घटनाको वास्तविकता पत्ता लगाउन र प्राविधिक समस्या पहिल्याउन बोर्डले आफ्ना उपकार्यकारी निर्देशकको नेतृत्वमा ५ सदस्यीय निरिक्षण तथा जाँचबुझ टोली गठन गरी तत्कालै खटाइसकेको छ।
नेप्से र निरीक्षण टोलीबाट प्राप्त हुने सुझाव तथा प्रतिवेदनका आधारमा आगामी दिनमा पुँजी बजारलाई थप स्वस्थ, सुरक्षित र पारदर्शी बनाउन आवश्यक कदम चालिने धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



