RE
Global College

सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टचार मुद्धा दायर गरेको छ । अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाको वडा नं. ६ स्थित हरियापानी–पालङ्ग–माझफाल हुँदै रूकुम जोड्ने मोटरबाटो निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा बदनियतपूर्वक मिलेमतो भएको अनुसन्धानबाट खुलेको  छ।

सार्वजनिक खरिद ऐनविपरीत सर्तहरू राखेर सबैभन्दा कम ३० लाख ९९ हजार ८१८ रुपैयाँ कबोल गर्ने निर्माण व्यवसायीलाई प्रतिस्पर्धाबाट बाहिर पारिएको र त्यसपछि कानुनविपरीत सबैभन्दा बढी १ करोड ४ लाख ६१ हजार ७७२ रुपैयाँ कबोल गर्ने ‘छल निर्माण सेवा प्रा.लि.’ लाई ठेक्का स्वीकृत गरी राज्य कोषलाई ७३ लाख ६१ हजार ९५३ रुपैयाँ ५७ पैसा नोक्सानी पुर्‍याइएको अख्तियारको जिकिर छ।

उक्त अनियमिततामा संलग्न रहेको ठहर गर्दै अख्तियारले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्ण बहादुर कार्की, प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भिम बहादुर थापा र एमआईएस अपरेटर हरिचन्द्र बिष्टलाई प्रतिवादी बनाएको छ। त्यस्तै, बोलपत्र मूल्याङ्कन समितिका सदस्य शिशिर कुमार गुरूङ तथा गैरकानुनी लाभ लिने छल निर्माण सेवा प्रा.लि. र उक्त निर्माण सेवाका प्रोप्राइटर दिपचन्द्र रोकायाविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

गलत प्रतिवेदन दिई राज्यको सम्पत्ति दुरुपयोग गरेको अभियोगमा अख्तियारले सबै प्रतिवादीहरूबाट जनही ७३ लाख ६१ हजार ९५३ रुपैयाँ ५७ पैसा बिगो असुलउपर गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम हदैसम्मको कैद र जरिवाना सजाय मागदाबी गरेको छ।

 

Leave Your Comment

Related News