काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाटै कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले बिदाइ गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन।
सो क्रममा यात्राका क्रममा अध्ययनका लागि कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री वाग्लेले पल केनेडीले लेखेको ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’ पुस्तक हस्तान्तरण गरेका थिए।
आजै साँझ ७:०० बजेको उडानमार्फत प्रधानमन्त्री शाह अमेरिकातर्फ प्रस्थान गरेका छन्। उनले असोज ८ गते संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभालाई सम्बोधन गर्ने छन्। उनी असोज १० गते नेपाल फर्किने कार्यतालिका छ।
कार्यवाहक प्रधानमन्त्री,रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्री, रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्हाल्ने भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गर्नुअघि उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई तोक्नु भएको हो।
साथै, प्रधानमन्त्रीले सम्हाल्दै आएको रक्षा मन्त्रालयको कार्यभार पनि स्वतः अर्थमन्त्रीलाई नै सरेको छ। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन सोमबार अमेरिका प्रस्थान गरेका परराष्ट्र मन्त्री शिशिर खनालको कार्यभार पनि अर्थमन्त्रीलाई नै तोकिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले खनालको अनुपस्थितिमा सो मन्त्रालयको कार्यभार साेमबार अर्थमन्त्रीलाई नै तोकेको थियो।



