काठमाडौं । नेपाल र क्यारिबियाली मुलुक ग्रेनाडाबिच औपचारिक रूपमा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको छ। नेपालको परराष्ट्र नीतिको एक महत्त्वपूर्ण उपलब्धि मानिएको यो सम्झौतासँगै नेपालको वैदेशिक सम्बन्ध र कूटनीतिक पहुँच विश्वका १८६ देशहरूमा विस्तार भएको छ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आयोजित एक विशेष समारोहमा नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन।
हस्ताक्षर समारोहअघि दुवै मन्त्रीहरूबिच दुई देशका साझा वैश्विक प्राथमिकताका साथै आपसी हितका विविध विषयमा फलदायी छलफल भएको थियो। सो अवसरमा दिगो विकास लक्ष्यको कार्यान्वयनलाई तीव्र बनाउने र जलवायु परिवर्तनले पारेका गम्भीर प्रभावहरूसँग जुध्न अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यसैगरी, दुवै देशबिच पर्यटन र शिक्षाजस्ता सम्भावना बोकेका क्षेत्रहरूमा एक-अर्काका उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्ने र द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत गहन विचार-विमर्श भएको परराष्ट्र मन्त्री खनालले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।





