काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा रहेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसङ्घ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६ः३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४ः१५ बजे) भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिए । रसुवाको भोटेकोशी नदीमा आएको विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताए ।
त्यस अवसरमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताए। उनले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गरे। आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल गएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
साथै, प्रधानमन्त्री शाह र महासचिव गुटेरेसबीच नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो। अतिकम विकसित राष्ट्र (एलडीसी) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा विस्तारबारेमा पनि कुराकानी भएको थियो।



