काठमाडौं । लगातारको अविरल वर्षा र त्यसबाट हुन सक्ने सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न जिल्लाहरूमा सवारी सञ्चालनसम्बन्धी विशेष निर्णय एवं सतर्कताको वर्गीकरण सार्वजनिक गरेको छ।
प्राधिकरणले जारी गरेको जोखिम नक्साअनुसार जिल्लाहरूलाई विपद्को सम्भावित असरका आधारमा रातिको समयमा सवारी साधन सञ्चालन बन्द गर्ने, दिउँसोको समयमा परिस्थिति हेरेर निर्णय लिने र केही क्षेत्रमा पूर्ण रूपमा सवारी आवागमन बन्द गर्ने गरी तीन वर्गमा विभाजन गरेको छ।
प्राधिकरणको नक्सामा रातो रङले जनाइएका जिल्लाहरूमा सवारी साधन पूर्ण रूपमा बन्द गर्न निर्देशन दिइएको छ। यो समूहमा सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूको ठूलो हिस्सा समेटिएको छ।
यसैगरी सुन्तला रङले देखाइएका जिल्लाहरूमा रातिको समयमा सवारी सञ्चालन पूर्ण रूपमा बन्द गर्न र दिउँसोको समयमा सडक तथा मौसमको अवस्था मूल्याङ्कन गरेर मात्र निर्णय लिन भनिएको छ। यस वर्गमा सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रसहित गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी जिल्लाहरू परेका छन्।
त्यस्तै पहेंलो रङले देखाइएका तराईका अधिकांश जिल्ला तथा कोशी प्रदेशका धेरैजसो भूभागमा भने सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ।
लगातारको वर्षाका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुग्न सक्ने, पहिरो तथा बाढीको जोखिम उच्च रहने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले अपिल गरेको छ। विशेष गरी रातिको समयमा पहाडी तथा नदी किनारका सडकहरूमा अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासन एवं सम्बन्धित निकायको पछिल्लो सूचनाका आधारमा मात्रै यात्रा तय गर्न प्राधिकरणले आग्रह गरेको छ।



