काठमाडौं । नेपाल सरकार र बेलारुस गणतन्त्रको सरकारबिच कूटनीतिक, सरकारी तथा सेवा पासपोर्ट वाहकहरूका लागि भिसा छुट दिनेसम्बन्धी ऐतिहासिक द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाको अवसरमा आयोजित एक समारोहका बिच बेलारुसका वैदेशिक मामिला मन्त्री महामहिम म्याक्सिम रिजेनकोभ र नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले आ-आफ्नो सरकारको तर्फबाट उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।
हस्ताक्षर समारोहअघि भएको सौहार्दपूर्ण भेटवार्तामा दुवै देशका परराष्ट्र मन्त्रीहरूबिच आपसी हितका विविध विषयमा गहन छलफल भएको थियो। सो क्रममा दुई देशबिचको मित्रवत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ।
भेटमा खास गरी श्रम, शिक्षा, व्यापार, लगानी तथा जनस्तरको सम्बन्धलाई अझ फराकिलो र प्रभावकारी बनाउने विषयमा सहकार्य गर्ने सहमति भएको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिएका छन्।



