काठमाडौं । दक्षिणपश्चिमी जापानको कुमामोतो प्रिफेक्चरमा जुलाई २८ मा गएको शक्तिशाली भूकम्पको दुई महिनापछि पनि एक हजार ५०० भन्दा बढी मानिस आश्रयस्थलमा बसिरहेका स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।
७.१ म्याग्निच्युडको उक्त भूकम्पले सबैभन्दा बढी प्रभावित क्षेत्रमा जापानको शुन्य देखि ७ सम्मको भूकम्पीय तीव्रता मापनमा अधिकतम ७ तीव्रता रेकर्ड गरेको थियो । भूकम्पमा ३८ जनाको मृत्यु भएको थियो । प्रिफेक्चर सरकारलाई उद्धृत गर्दै जिजी प्रेसका अनुसार शुक्रबारसम्म कुमामोतोका ३२ वटा आश्रयस्थलमा एक हजार ५१४ जना बसिरहेका थिए । अन्य धेरै प्रभावित व्यक्ति होटल वा क्षतिग्रस्त आफ्नै घरमा बस्दै आएका छन् । भूकम्पबाट ७१ हजार ५१८ आवासीय भवनमा क्षति पुगेको थियो । तीमध्ये नौ हजार ५४० भवन पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका थिए ।
प्रभावित नागरिकका लागि सुरक्षित र स्थायी आवासको तत्काल व्यवस्था गर्नु तथा उनीहरूलाई पुनःस्थापित हुन सहयोग गर्नु कुमामोतो प्रिफेक्चर सरकारका प्रमुख चुनौती बनेका छन् ।



