काठमाडौं । स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटलाई पहिलोपटक पृथ्वीको कक्षामा पुर्याउने लक्ष्यसहित सोमबार १४औँ परीक्षण उडान गर्दैछ । चन्द्रमा र मङ्गल ग्रहका भविष्यका अभियानका लागि विकास भइरहेको स्टारशिपलाई कक्षामा पुर्याउन सकिएमा यसको विकासमा महत्त्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ ।
करिब १० घण्टा चल्ने अपेक्षा गरिएको परीक्षणमा स्टारशिपको माथिल्लो चरणलाई पृथ्वीको कक्षामा पुर्याएर २६ वटा नयाँ पुस्ताका स्टारलिङ्क उपग्रह तैनाथ गर्ने योजना छ । टेक्सासमा स्थानीय समयअनुसार बिहान ७ः१५ बजे अर्थात् १२ः१५ जीएमटीमा प्रक्षेपण हुने बताइएको छ । यसअघिका केही परीक्षण उडान विस्फोटमा समाप्त भएकाले यसपटकको परीक्षण पनि चुनौतीपूर्ण मानिएको छ ।
जर्जटाउन विश्वविद्यालयकी वरिष्ठ विश्लेषक क्याथलिन कर्लीले कक्षामा प्रवेश गराउनु परीक्षणको सबैभन्दा कठिन पक्ष भएको बताइन् । उनका अनुसार त्यसका लागि थप शक्ति र जटिल गणनाको आवश्यकता पर्छ । स्पेसएक्सले पृथ्वीबाट करिब २७५ किलोमिटर माथि गोलाकार कक्षा हासिल गर्न करिब २८ हजार किलोमिटर प्रतिघण्टाको गति आवश्यक पर्ने जनाएको छ ।
कक्षामा पुगेपछि अन्तरिक्षयानले स्टारलिङ्कका २६ उपग्रह तैनाथ गर्ने प्रयास गर्नेछ । त्यसपछि पृथ्वीलाई छ पटक परिक्रमा गरी प्रशान्त महासागरमा उडान समाप्त गर्ने योजना छ । ‘सुपर हेभी’ बुस्टर भने प्रक्षेपणपछि मेक्सिकोको खाडीमा खस्नेछ ।
स्टारशिपलाई पूर्ण रूपमा पुनःप्रयोग गर्न सकिने अन्तरिक्षयान बनाउने लक्ष्य राखिएको भए पनि व्यावसायिक उडान तथा चन्द्रमा वा मङ्गल ग्रहसम्मका अभियानका लागि अझै प्राविधिक चुनौती बाँकी छन् । स्टारशिपको विकासमा ढिलाइ भइरहेका बेला चीनको एउटा कम्पनीले पनि पुनःप्रयोग गर्न सकिने रकेट विकासमा प्रगति गरेको छ ।
स्पेसएक्सले भने आंशिक रूपमा पुनःप्रयोग गर्न सकिने फाल्कन रकेटका कारण विश्वव्यापी अन्तरिक्ष प्रक्षेपण बजारमा आफ्नो प्रभाव कायम राखेको छ । १४औँ परीक्षणपछि सोही साता कम्पनीले थप तीनवटा रकेट प्रक्षेपण गर्ने योजना बनाएको छ, जसमध्ये एउटा अन्तरिक्षयात्रीको टोलीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पठाउनेछ ।



