काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। असोज १२ गते सोमबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि साधारण सेयर पुँजीमा १० प्रतिशत र अग्राधिकार सेयर पुँजीमा ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको प्रस्तावअनुसार करसहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट तेज बहादुर चन्द र महेश घिमिरेलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सानिमा बैंकले ३ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा गरेको छ। असार मसान्तसम्म बैंकको कुल सम्पत्ति २ खर्ब ९१ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको कुल निक्षेप २ खर्ब ४९ अर्ब ९३ करोड रुपैयाँ र खुद कर्जा सापटी २ खर्ब ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८१/८२ को तुलनामा निक्षेप १०.८४ प्रतिशत, कर्जा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशतले बढेको बैंकले जनाएको छ।
असार मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात २.८७ प्रतिशत रहेको छ। बैंकको पुँजीकोष १२.८३ प्रतिशत, तरलता अनुपात ३०.६८ प्रतिशत र मासिक औसत कर्जा–निक्षेप अनुपात ८०.७७ प्रतिशत रहेको छ।
साधारणसभाले बैंकको आगामी व्यावसायिक गतिविधि र वित्तीय विस्तारसँग सम्बन्धित विषयमा समेत छलफल गरेको थियो।



