काठमाडौं । पूर्वप्रधानन्यायाधीशलाई असोज १० गते मध्यरातमा सुतिरहेको अवस्थामा घरबाट उठाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा करिब १० घण्टा राखी पुनः परिवारको जिम्मा लगाइएको घटनाप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
असोज १२ गते बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठक (फुल कोर्ट) ले विज्ञप्ति जारी गर्दै संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई आधारभूत मूल्यका रूपमा आत्मसात् गरेको र पूर्व तथा बहालवाला न्यायाधीशहरू स्वतन्त्र न्यायपालिकाका अभिन्न अङ्ग भएकाले राज्यका निकायहरूले उनीहरूप्रति गर्ने व्यवहार सदैव संवेदनशील हुनुपर्ने स्पष्ट पारेको छ।
उचित कानुनी प्रक्रिया पूरा नगरी गरिने यस्ता कामकारबाहीमा स्वेच्छाचारिता देखिने र लोकतान्त्रिक शासन प्रणालीमा त्यस्ता कदम स्वीकार्य नहुने ठहर गर्दै सर्वोच्चले कुनै पनि पूर्व पदाधिकारीसँग जोडेर न्याय सम्पादनका कामलाई गलत रूपमा चित्रण नगर्न सरोकारवालाहरूलाई आग्रह गरेको छ। साथै, अदालतबाट हुने न्याय सम्पादनमा बाह्य वा आन्तरिक कुनै पनि प्रकारको प्रभावलाई स्थान नदिइने कुरामा आम नागरिकलाई विश्वास दिलाइएको छ।




