काठमाडौं । एनआईसी एसिया क्यापिटल योजना व्यवस्थापक रही सञ्चालन हुने ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’को इकाइमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले निष्काशन गरेको उक्त फण्डमा माग भन्दा बढी आवेदन परेकाले आज कार्यालय समय पछि इकाइमा आवेदन बन्द हुने भएको हो ।
प्रतिइकाई मूल्य १० रुपैयाँ दरका ८ करोड इकाइमध्ये न्यूनतम १ लाख २० हजार वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक एनआईसी एसिया बैंकको लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाइ असोज ७ गतेदेखि असोज १३ गतेसम्म बिक्री खुला गरिएको थियो ।
स्वीकृत विवरण पुस्तिकामा रहेको व्यवस्थाअनुसार उक्त योजनाको आकार ८० कारोड रुपैयाँबाट वृद्धि गरी १ अर्ब रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था रहेको छ । यो १० वर्ष अवधि रहेको छैटौँ बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गरिने योजना व्यवस्थापकले जनाएको छ।
उक्त योजनामा संकलित रकम भविष्यमा राम्रो प्रतिफल दिन सक्ने र राम्रो ग्रोथ सम्भावन भएका कम्पनीहरुमा अध्ययन र अनुसन्धान गरी लगानी गरिने क्यापिटलले जनाएको छ । उक्त योजनाको न्यूनतम १०० इकाइ र अधिकतम १ करोड इकाइसम्मका लागि खरिद आवेदन दिन सकिन्छ भने इकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय र सीडीएससीको मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ ।



