काठमाडौं । सिद्धिचरण राजमार्गअन्तर्गत सोलुखुम्बुको साल्मे क्षेत्रमा पहिरो व्यवस्थापन तथा सडक मर्मतको काम सम्पन्न भएसँगै उक्त सडक खण्ड २४ सै घण्टा पूर्ण रूपमा सञ्चालनमा आएको छ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले मंगलबार एक सूचना जारी गर्दै सोलुदुधकुण्ड नगरपालिका वडा नं. ११ स्थित साल्मे क्षेत्रमा पहिरोको जोखिमका कारण यसअघि साँझ ६:०० बजेदेखि बिहान ६:०० बजेसम्म सडक बन्द गरिँदै आएकोमा हाल मर्मत कार्य सम्पन्न भई यातायात सेवा २४ सै घण्टा सञ्चालन गरिएको जनाएको छ।
सूचना अनुसार सडक सञ्चालनमा आए पनि उक्त सडक खण्डमा यात्रा गर्ने सम्पूर्ण यात्री तथा सवारी चालकहरूलाई आवश्यक सावधानी अपनाएर सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरिएको छ।




