RE
Global College

सञ्चारमन्त्री डा. तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी सिओलमा आयोजना हुने ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन जाने पूर्व निर्धारित भ्रमण स्थगित गरेका छन्।

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको थियो। उनी सेप्टेम्बर ३० देखि अक्टोबर ९, २०२६ सम्म सिओलमा हुने कार्यक्रमका लागि कोरिया जाने तयारीमा थिए।

तर देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो र निरन्तर वर्षाका कारण ठूलो जनधनको क्षति भएपछि सञ्चारमन्त्री तिमिल्सिनाले पूर्व निर्धारित कोरिया भ्रमण स्थगित गरेका हुन्।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा बाढी तथा पहिरोले ठूलो क्षति पुर्‍ याएकाे थियो। त्यसैगरी असोज ८ देखि ११ गतेसम्म भएको निरन्तर वर्षाका कारण देशका विभिन्न स्थानमा पुनः बाढीपहिरो तथा डुबानका घटना भएका छन्।

विपद्का कारण मानवीय क्षतिका साथै सडक, पुल, विद्युत्, सञ्चारलगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ। विपदबाट प्रभावित क्षेत्रमा अहिले पनि उद्धार, राहत तथा पुनःस्थापनाका काम जारी छन्।

सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा उद्धार, राहत, समन्वय तथा प्रभावित नागरिकसँगको सम्पर्कमा कठिनाइ भइरहेको अवस्था सञ्चार सम्पर्कलाई यथाशक्य नियमित र प्रभावकारी बनाउनु सरकारको महत्वपूर्ण दायित्व बनेको छ।

यही परिस्थितिलाई ध्यानमा राख्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले मुलुकभित्रको विपद् व्यवस्थापन तथा प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापना र निरन्तरतासम्बन्धी कामलाई प्राथमिकता दिएको मन्त्रालयले जनाएको छ।

पूर्व निर्धारित कार्यक्रमअनुसार कोरिया भ्रमणमा सहभागी हुन नसक्ने जानकारी आयोजक पक्षलाई गराउन सञ्चार मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ।

भ्रमण स्थगनको मुख्य कारण मुलुकका विभिन्न क्षेत्रमा विपद्का कारण उत्पन्न असहज परिस्थिति र प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना तथा सञ्चार सेवा सञ्चालनलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको सञ्चार मन्त्रालयले जनाएको छ।

Leave Your Comment

Related News