काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमा थप उँचो बनाएको बताएका छन्।
बुधबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्रीको सम्बोधनले अन्तर्राष्ट्रिय वृत्तमा व्यापक चासो र सकारात्मक चर्चा पाएको दाबी गरे।
उनका अनुसार प्रधानमन्त्रीको सम्बोधन यस वर्षको संयुक्त राष्ट्रसंघीय महासभाका सर्वाधिक हेरिएका सम्बोधनका भिडियोमध्ये एक बनेको छ। राजनीतिक परिवर्तनपछिको नयाँ परिस्थितिमा युवा प्रधानमन्त्रीले विश्व मञ्चमा नेपालको प्रतिनिधित्व कसरी गर्छन् भन्ने चासो नेपालसहित अन्तर्राष्ट्रिय समुदायमा रहेकाले यसपटकको सहभागिता विशेष रहेको उनले बताए।
मन्त्री खनालले महासभा नेपालको कूटनीतिक सक्रियताका लागि महत्त्वपूर्ण अवसर बनेको बताए। प्रधानमन्त्रीको सम्बोधनमार्फत विश्व मञ्चमा नेपालको मुद्दा स्पष्ट र सशक्त रूपमा प्रस्तुत गर्न सफल भएको र यसले नेपालको कूटनीतिक छविलाई थप बलियो बनाएको उनको भनाइ छ।
‘प्रधानमन्त्रीको सम्बोधनअघि नै नेपालले राजनीतिक परिवर्तनपछि विश्व मञ्चमा आफूलाई कसरी प्रस्तुत गर्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय स्तरमा विशेष चासो थियो। सम्बोधनपछि विश्वभरका सञ्चारमाध्यममा त्यसले उल्लेख्य स्थान पाएको र संयुक्त राष्ट्रसंघका यस वर्षका सर्वाधिक हेरिएका सम्बोधनमध्ये एक बनेको छ,’ मन्त्री खनालले भने।
उनका अनुसार महासभाको साइडलाइनमा भएका विभिन्न छलफलमा नेपालले उठाएको जलवायु वित्त र जलवायु न्यायको मुद्दाले समेत महत्त्व पाएको छ। प्रधानमन्त्रीसँग भएका भेटवार्तामा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले सम्बोधनको प्रशंसा गर्दै नेपालले उठाएका विषयप्रति ऐक्यबद्धता व्यक्त गरेको उनले बताए।
मन्त्री खनालले पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लने दर बढ्नु तथा आकस्मिक विपद्का घटना बढ्दै जानुलाई नेपालले राष्ट्रिय सुरक्षा र विकासको प्रमुख चुनौतीका रूपमा विश्व मञ्चमा प्रस्तुत गर्दै आएको बताए।
महासभामा नेपालको सहभागिताले क्षेत्रीय तथा वैश्विक स्तरमा नेपालको कूटनीतिक सक्रियता थप प्रभावकारी बनेको उनको दाबी छ।



