काठमाडौं । रमाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालको संस्कृति, स्वाद, प्रतिभा, स्थानीय उत्पादन तथा आफ्ना मानिसहरूको उत्सव मनाउने तरिकासहितको पाँचदिने दशैं होम कमिङ कार्निभल आयोजना गर्ने भएको छ। Drishya See the Unseen को सहकार्यमा आयोजना हुने यो कार्निभल अक्टोबर ६ देखि अक्टोबर १० सम्म आरिया लनमा सञ्चालन हुनेछ। यसको मुख्य आकर्षण भने अक्टोबर १० मा हुने साइग्रेससँगको विशेष भेटघाट तथा मीट एण्ड ग्रीट रहनेछ।
दशैंका बेला घर फर्किने खुसी र आत्मीयतालाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्निभलले परिवार तथा आफन्तहरूलाई एकसाथ भेला भई पुनर्मिलन गर्न, चाडपर्व मनाउन र पूर्वी नेपालको जीवन्तता अनुभव गर्ने अवसर प्रदान गर्नेछ। हरेक साँझ बेलुका ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने कार्यक्रममा यस क्षेत्रसँग जोडिएका कलाकारहरूको लाइभ प्रस्तुति, स्थानीय स्वाद झल्काउने विभिन्न लाइभ फुड स्टेसन, रमाइला गतिविधि, फेस पेन्टिङ तथा लाइभ क्यास बारको व्यवस्था रहनेछ। यसले उत्सवको माहोलसँगै घर फर्किएको आत्मीय अनुभूति पनि प्रदान गर्नेछ।
कार्निभलको भव्य समापन अक्टोबर १०, शनिबारका दिन हुनेछ। यस दिन साइग्रेससँगको विशेष मीट एण्ड ग्रीट र प्रस्तुतीका साथै नीलो धागो, बाँसुरी र आस्था बराइलीका लाइभ प्रस्तुतिहरू रहनेछन्। रेगालिया र ईम्पेरियाअन्तर्गत प्रस्तुत हुने यस साँझलाई पाँचदिने उत्सवको विशेष तथा अविस्मरणीय समापनका रूपमा आयोजना गरिँदैछ। यस दिनको प्रवेश शुल्क रु. १,९९९ रहनेछ भने लाइभ फुड स्टेसनहरू राति ८:३० बजेदेखि सञ्चालन हुनेछन्।



