काठमाडौं । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकले भोटेकोशी बाढीपछिको कार्यलाई ‘खोज तथा उद्धार’ बाट ‘खोज तथा पुनर्स्थापना’ को चरणमा लैजाने निर्णय गरेको छ।
बैठकले अत्यावश्यक स्थानहरूमा खोजी कार्य जारी राख्दै वेपत्ता व्यक्तिहरूको विवरण स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमार्फत प्रमाणित गरी प्राधिकरणमा पठाउन निर्देशन दिएको छ।
साथै, वेपत्ता नागरिकलाई मृतकसरह घोषणा गर्नेसम्बन्धी कानुनी संशोधनको काम कानुन मन्त्रालयले गरिरहेको र पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा सम्भावित सुरक्षित स्थानहरूमा अस्थायी बसोबास निर्माण गरिनेछ।
बैठकले बाढी तथा मनसुनजन्य विपद्मा उद्धार र राहतमा खटिने सम्पूर्ण सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज तथा आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने मित्रराष्ट्रहरूप्रति धन्यवाद ज्ञापन गरेको छ।



