काठमाडौं ।प्रतिनिधि सभाको बिहीबारकाे शून्य समयमा भाग लिने सांसदले ज्येष्ठ नागरिकको अनुभव, सीप र क्षमतालाई समाजमा सही ढङ्गले उपयोग गरिनुपर्नेमा जोड दिएका छन्। उनीहरुले ज्येष्ठ नागरिकलाई समाजका अग्रज र अनुभवी व्यक्तित्वका रुपमा सम्मानजनक व्यवहार गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए।
सांसद समिना मियाँले ज्येष्ठ नागरिकलाई भोट बैंकका रुपमा मात्र नभई ज्ञान, सीप र अवधारणा आदानप्रदान गर्ने अग्रज व्यक्तित्वका रुपमा परिभाषित गर्न जरुरी रहेको बताइन्।
सांसद ज्ञानेन्द्रसिंह महताले कञ्चनपुर जिल्लाका अभिभावकविहीन बालबालिका र ज्येष्ठ नागरिकको राखिएका संस्थामा उहाँहरुका लागि सुरक्षित आवास, खाद्यान्न र सम्मानपूर्वक बाँच्न पाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद ललिता कुमारीले अग्रजलाई सम्मान गर्ने संस्कार कमजोर हुँदै गएको पाटोलाई सरकारले गम्भिरतापूर्वक लिन आवश्यक रहेको बताइन्। सांसद ध्रुवराज राईले जनताको सार्वभौम सम्पन्न उच्च निकायका रुपमा रहेको सदनमा जनप्रतिनिधिले उठाएका विषयलाई सरकारले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे।
सांसद लक्ष्मीप्रसाद पोखरेलले वर्तमान सरकारले जनचाहना र देशको हितका पक्षमा प्रभावकारी रुपमा काम गर्नुपर्नेमा त्यो नभएको विचार प्रकट गरे।
सांसद लेखजङ्ग थापा बुटवल क्षेत्रका जीर्ण अवस्थाका सिँचाइ संरचनाको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद विक्रम थापाले छोटी भन्सारबाट हुने आयात र पैठारीलाई व्यवस्थित गराउन सरकारसँग माग गरे।
सांसद विपीनकुमार आचार्यले नेपाली मुद्राको मौलिकखाले नमुना बनाउन सरकारको ध्यानाकर्षण गराए। सांसद विष्णुमाया विकले छलफलका लागि तय भइसकेका कार्यसूची हटाइँदा सदन शोभनीय नहुने बताइन्।
सांसद शम्भुकुमार यादवले चुरेक्षेत्र अत्यधिक दोहनका कारणले सिरहाको गोलबजारमा खानेपानीको समस्या उत्पन्न भएको भनी सरकारको ध्यानाकर्षण गराए। सांसद शम्भुप्रसाद ढकालले यस वर्ष धानको समर्थन मूल्य समयमै तोक्न सरकारसँग माग गरे।
सांसद शिवशङ्कर यादवले मधेस प्रदेशका अधिकांश शिक्षकले महिनौँसम्म तलब नपाउनको कारण के हो भनी सरकारसँग जानकारी माग गरे।



