काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सुशासनका नाममा स्टन्टबाजी मात्र भइरहेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै दुलालले प्रधानमन्त्रीले संसद्लाई पूर्वजानकारी नदिई विदेश भ्रमण गरेको, बाढी–पहिरोपीडितको राहत तथा पुनःस्थापनामा ढिलाइ गरेको र जनताका समस्याप्रति सरकार उदासीन बनेको आरोप लगाए।
संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीले उठाएका विषय सकारात्मक भए पनि भ्रमणअघि र भ्रमणपछि संसद्लाई जानकारी नदिइएको भन्दै उनले व्यवस्थापिकाको अपमान भएको बताए।
हालैको बाढी–पहिरोमा ज्यान गुमाएका तथा बेपत्ता नागरिकको अवस्थाप्रति सरकार संवेदनशील बन्न नसकेको उनको आरोप थियो। बेपत्ता नागरिकलाई तत्काल मृतकसरहको कानुनी हैसियत प्रदान गरी परिवारलाई राहत उपलब्ध गराउन तथा पुनर्निर्माण र पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन उनले सरकारसँग माग गरे।
राहत सामग्री गोदाममै थन्किएको र विपद् व्यवस्थापनका लागि छुट्याइएको रकमसमेत खर्च हुन नसकेको भन्दै दुलालले प्रशासनिक ढिलासुस्तीप्रति असन्तुष्टि जनाए।
भ्रष्टाचार नियन्त्रणको विषयमा उनले अघिल्लो सरकारका पालामा सुशासनको अभियानअन्तर्गत ठूला भ्रष्टाचारका फाइल खोलिएको दाबी गरे। सरकार साँच्चिकै भ्रष्टाचार नियन्त्रण गर्न इच्छुक भए बलिया आधारसहितका फाइल खोल्नुपर्ने उनको भनाइ थियो।
‘यदि सरकार साँच्चै भ्रष्टाचारीलाई कारबाही गर्न चाहन्छ भने बलिया आधारसहितका फाइलहरू खोलोस्, न कि स्टन्ट देखाएर जनतालाई भ्रममा राखोस्,’ दुलालले भने।
उनले सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जिबी) राईलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन पनि सरकारसँग माग गरे।
दुलालले महँगी, बेरोजगारी र आधारभूत सेवासँग सम्बन्धित समस्यामा सरकार मौन बसेको आरोप लगाए। रसुवा र कोरला लगायतका उत्तरी नाका बन्द हुँदा चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको उल्लेख गर्दै उनले उच्चस्तरीय कूटनीतिक पहलमार्फत नाका तत्काल सञ्चालन गर्न माग गरे।
सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोज्ने तथा सांसदहरूको स्तर निर्धारण गर्नेजस्ता कार्यले लोकतान्त्रिक मूल्य कमजोर पार्ने चेतावनी दिँदै उनले यस्ता गतिविधिले प्रधानमन्त्रीकै राजनीतिक साखमा असर पार्ने बताए।



