काठमाडौं । नेपाल टेलिकमले आफ्नो फाइबर इन्टरनेटमा आधारित एनटीटीभी सेवा प्रयोगका लागि भौतिक सेट–टप बक्स आवश्यक नपर्ने व्यवस्था गरेको छ। कम्पनीले एन्ड्रोइडमा आधारित स्मार्ट टिभीका लागि ‘भर्चुअल सेट–टप बक्स’ सेवा उपलब्ध गराएपछि ग्राहकले छुट्टै उपकरण नजोडी टिभीमै एनटीटीभी चलाउन सक्ने भएका छन्।
नेपाल टेलिकमका अनुसार भर्चुअल एसटीबीमार्फत स्मार्ट टिभीमा एनटीटीभीको सेवा लिन सकिन्छ। त्यसका लागि गुगल प्ले स्टोरमा ‘स्मार्ट एनटीटीभी’ एप खोजेर डाउनलोड तथा इन्स्टल गर्नुपर्छ। एपमा नेपाल टेलिकममा दर्ता भएको मोबाइल नम्बरबाट लगइन गरी ओटीपीमार्फत सेवा सुरु गर्न सकिने कम्पनीले जनाएको छ।
भर्चुअल एसटीबी सेवा हाल गुगल प्ले स्टोर उपलब्ध भएका र एन्ड्रोइड ५.० वा सोभन्दा माथिको संस्करणमा चल्ने उपयुक्त स्मार्ट टिभीमा प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ।
नयाँ ग्राहकलाई १ हजार रुपैयाँ छुट
नेपाल टेलिकमले भर्चुअल एसटीबीसहित नयाँ वार्षिक एफटीटीएच प्याकेज लिने ग्राहकलाई १ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ। कम्पनीले बेसिक र प्रिमियम एनटीटीभीसहित विभिन्न इन्टरनेट प्याकेजमा भर्चुअल एसटीबी सुविधा समावेश गरेको छ।
हाल कम्पनीले ५०, १००, १५० र २०० एमबीपीएसका इन्टरनेट प्याकेजमा बेसिक तथा प्रिमियम एनटीटीभीसहित भर्चुअल एसटीबी सुविधा उपलब्ध गराएको छ। यस्ता प्याकेजमा नेपाल टेलिकमको टेलिफोन सेवासमेत समावेश छ।
कम्पनीका अनुसार ५० एमबीपीएस इन्टरनेट, बेसिक एनटीटीभी र ३ हजार मिनेट नेपाल टेलिकम–नेपाल टेलिकम कलसहितको वार्षिक प्याकेजमा छुटपछि ९ हजार ४९९ रुपैयाँ शुल्क तोकिएको छ। सोही गतिमा १००, १५० र २०० एमबीपीएसका बेसिक तथा प्रिमियम प्याकेजसमेत उपलब्ध छन्।
छुट्टै सेट–टप बक्स किन्नुपर्ने बाध्यता हट्यो
यसअघि एनटीटीभी प्रयोग गर्न ग्राहकले सेट–टप बक्स लिनुपर्ने व्यवस्था थियो। नेपाल टेलिकमको नियमित एफटीटीएच विवरणमा अहिले पनि भौतिक एनटीटीभी सेट–टप बक्सको शुल्क ३ हजार २३० रुपैयाँ तोकिएको छ। तर भर्चुअल एसटीबी सेवा लिन मिल्ने स्मार्ट टिभीमा भने छुट्टै भौतिक सेट–टप बक्स आवश्यक पर्दैन।
नेपाल टेलिकमले एफटीटीएचमार्फत एउटै फाइबरबाट इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीको एनटीटीभी सेवा एफटीटीएच नेटवर्क उपलब्ध भएका स्थानमा प्रयोग गर्न सकिने व्यवस्था छ।
टिभीमै एप इन्स्टल गरेर सेवा
भर्चुअल एसटीबी प्रयोग गर्न ग्राहकले आफ्नो स्मार्ट टिभी नेपाल टेलिकमको एफटीटीएच वाइफाइमा जोड्नुपर्छ। त्यसपछि टिभीमा रहेको गुगल प्ले स्टोर खोलेर ‘स्मार्ट एनटीटीभी’ एप इन्स्टल गर्नुपर्छ।
एप खोलेपछि नेपाल टेलिकममा दर्ता भएको मोबाइल नम्बर राखेर ओटीपीबाट प्रमाणीकरण गरेपछि एनटीटीभीका लाइभ टिभी, चलचित्र तथा कार्यक्रम हेर्न सकिने कम्पनीले जनाएको छ।
नेपाल टेलिकमले बेसिक एनटीटीभी प्याकेजमा विभिन्न नेपाली टेलिभिजन च्यानल उपलब्ध गराउँदै आएको छ। कम्पनीको वेबसाइटमा बेसिक तथा प्रिमियम प्याकेजमा उपलब्ध च्यानलको विवरणसमेत राखिएको छ।
कम्पनीले आगामी दिनमा थप स्मार्ट टिभीमा प्रयोग गर्न मिल्ने गरी भर्चुअल एसटीबी सेवा विस्तार गर्ने तयारीसमेत गरेको जनाएको छ। यसबाट ग्राहकले अतिरिक्त उपकरण र तारजडानबिना स्मार्ट टिभीमै एनटीटीभी सेवा प्रयोग गर्न सक्नेछन्।



