काठमाडौं । काठमाडौँस्थित भारतीय राजदूतावासले आज विविध कार्यक्रमको आयोजना गरी १५७ औँ गान्धी जयन्ती मनाएको छ।
सो अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा नियोगका कार्यवाहक राजदूत तथा अन्य अधिकारीहरूले महात्मा गान्धीको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
कार्यक्रममा ‘आईसीसीआर नेपाल’ का शिक्षक तथा विद्यार्थीहरूले महात्मा गान्धीलाई अति मनपर्ने प्रसिद्ध भजनहरू प्रस्तुत गरेका थिए।
यसैबिच, गान्धी जयन्तीकै अवसर पारेर दूतावासमा सरसफाइ क्षेत्रमा योगदान पुर्याउने कर्मचारीहरूलाई सम्मान गरिएको छ। कार्यवाहक राजदूतले #SwachhataHiSeva2026 अभियानमा उत्कृष्ट योगदान पुर्याएको भन्दै दूतावासका सरसफाइ कर्मचारीहरूलाई कदरस्वरूप सम्मान प्रदान गरेका छन्।
गान्धी जयन्तीका अवसरमा भारतीय राजदूतावासले हरेक वर्ष सत्य, अहिंसा र स्वच्छताको सन्देश प्रवाह गर्दै विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ।




