RE
Global College

राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व अफर : घर कर्जा ५.५१ र सवारी कर्जा ४.९० प्रतिशत ब्याजदरमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दशैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै घर तथा सवारी कर्जामा विशेष अफर सार्वजनिक गरेको छ। बैंकले चाडपर्व अफरअन्तर्गत घर कर्जा ५.५१ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ। घरजग्गा खरिद, घर निर्माण तथा घडेरी खरिदका लागि ग्राहकले अधिकतम २० वर्ष अवधिको ३ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन्।

त्यस्तै, सवारी कर्जातर्फ विद्युतीयसहित सबै प्रकारका सवारीसाधन खरिदका लागि ४.९० प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ। यस्तो कर्जा अधिकतम ७ वर्ष अवधिका लागि १ करोड रुपैयाँसम्म उपलब्ध हुनेछ।

बैंकका अनुसार चाडपर्वका अवसरमा घर खरिद तथा निर्माण र सवारीसाधन खरिद गर्ने ग्राहकको संख्या बढ्ने भएकाले उनीहरूलाई सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले विशेष कर्जा योजना ल्याइएको हो। अफरअन्तर्गत कर्जामा लाग्ने सेवा शुल्कमा समेत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

यो योजना हाललाई २०८३ सालको कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रमा समेत शाखा विस्तार गरेको छ। बैंकका अनुसार हाल ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनलमार्फत ४९ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जासहित एटीएम, मोबाइल बैंकिङलगायतका डिजिटल बैंकिङ सेवा दिँदै आएको छ।

Leave Your Comment

Related News