काठमाडौं । नेपाली काँग्रेसको पन्ध्रौँ महाधिवेशन प्राकृतिक प्रकोपका कारण दुई दिन ढिला गरी आगामी असोज १८ गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ। निरन्तरको वर्षा र प्राकृतिक विपत्तिका कारण असोज १६ गतेका लागि निर्धारित उद्घाटन कार्यक्रम असोज १८ गतेका लागि सारिएको जानकारी दिइएको हो। महाधिवेशनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेका छन् भने १५ वटा विभिन्न समितिहरू गठन भई तयारी तीव्र पारिएको छ।
उद्घाटन स्थल खुलामञ्चमा मञ्च तथा बन्द सत्रका लागि भिन्न-भिन्न हलहरू निर्माण भइरहेका छन्। महाधिवेशनस्थलमा नै मिडिया सेन्टर र प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिने छ। काठमाडौँ बाहिर र विदेशबाट प्रतिनिधिहरू आउने क्रम सुरु भइसकेको छ। आवासका लागि एअरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा समन्वय गरिएको छ। सहभागीहरूले आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसमार्फत पाउनेछन् भने भोजनको व्यवस्था भृकुटीमण्डपमा गरिएको छ। आवास र कार्यक्रमस्थल आवतजावतको खर्च सहभागी स्वयम्ले व्यहोर्ने व्यवस्था मिलाइएको छ।
रसुवाको भोटेकोशी विपद् र हालैको अविरल वर्षाका कारण धेरैले ज्यान गुमाएको तथा मानिसहरू बेपत्ता भई धेरै परिवार शोकाकुल रहेको असहज परिस्थितिमा हुन लागेको यो महाधिवेशनमा पार्टीले कुनै पनि तामझाम र भड्किलो प्रचारप्रसार नगर्ने निर्णय गरेको छ। कार्यक्रमस्थलमा एउटा मूल ढोकाबाहेक सहरमा कुनै प्रचार सामग्री नटाँगिने र असोज १५ देखि काठमाडौँसहित देशभरका करिब १०० वटा डिजिटल बोर्डमार्फत मात्र सूचना प्रवाह गरिने छ। उम्मेदवारहरूलाई पनि डिजिटल माध्यम मात्र प्रयोग गर्न आग्रह गरिएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार इतिहासमै पहिलोपटक सबैभन्दा बढी अर्थात् ७,७०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुँदैछन्। प्रतिनिधिहरू १८ गते उद्घाटन सत्र, १९ र २० गते बन्द सत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रियामा सहभागी हुनेछन्। उद्घाटन कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित मुख्य राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने निश्चित भएको छ। साथै सोसलिष्ट इन्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवासहित अन्तर्राष्ट्रिय अतिथिहरू पनि सहभागी हुँदैछन्। सूचना अद्यावधिक गर्न अब हरेक दिन मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरिने छ।



