काठमाडौं । नेपाल आयल निगमको पछिल्लो १० वर्षको तथ्याङ्कअनुसार देशमा पेट्रोल र डिजेलको आयात परिमाणका साथै त्यसबापत बाहिरिने रकममा उच्च वृद्धि भएको छ। आर्थिक वर्ष २०७२/७३ देखि २०८२/८३ सम्मको विवरणअनुसार आन्तरिक बजारमा सवारी साधनको प्रयोग र औद्योगिक गतिविधि बढेसँगै इन्धनको खपत तीव्र गतिमा बढेको देखिन्छ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा २ लाख ३९ हजार ६७० किलोलिटर पेट्रोल र ७ लाख ८५ हजार ७५१ किलोलिटर डिजेल आयात गर्दा नेपालले १ खर्ब १६ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो। त्यसपछिका वर्षहरूमा पेट्रोल र डिजेल दुवैको आयात परिमाण निरन्तर उकालो लाग्यो। आवा. २०७३/७४ मा ४ लाख ७ हजार २७० किलोलिटर पेट्रोल र १३ लाख १९ हजार ८७३ किलोलिटर डिजेल भित्रिँदा आयात खर्च १ खर्ब ३६ अर्ब रुपैयाँ पुग्यो। २०७४/७५ मा ४ लाख ८८ हजार ६७५ किलोलिटर पेट्रोल र १५ लाख ८८ हजार ६७९ किलोलिटर डिजेल आयातका लागि १ खर्ब ५२ अर्ब रुपैयाँ खर्च भएको थियो।
यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ५ लाख ६६ हजार ८२७ किलोलिटर पेट्रोल र १७ लाख १५ हजार २०५ किलोलिटर डिजेल आयात गर्दा १ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ बाहिरियो। तर, आवा २०७६/७७ मा कोभिड–१९ महामारीका कारण देशभर लकडाउन र यातायात ठप्प हुँदा आयात परिमाण घटेर ५ लाख १३ हजार ९८४ किलोलिटर पेट्रोल र १४ लाख ७३ हजार ४२७ किलोलिटर डिजेलमा सीमित भयो भने खर्च घटेर ८१ अर्ब ७३ करोड रुपैयाँमा झर्यो। महामारीपछि स्थिति सामान्य बन्दै जाँदा आवा. २०७७/७८ मा ५ लाख ९१ हजार ७०० किलोलिटर पेट्रोल र १६ लाख ९६ हजार २०२ किलोलिटर डिजेल आयात भई १ खर्ब १६ अर्ब रुपैयाँको इन्धन नेपाल भित्रिएको थियो।
पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र आन्तरिक खपतका कारण इन्धन आयात खर्चले शृङ्खलाबद्ध नयाँ रेकर्ड कायम गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा ७ लाख ३० हजार ४८८ किलोलिटर पेट्रोल र १७ लाख २७ हजार ५७१ किलोलिटर डिजेल आयात गर्दा ३ खर्ब १६ अर्ब रुपैयाँ बाहिरिएको थियो। त्यसपछिको आवा. २०७९/८० मा ६ लाख ८० हजार ८०७ किलोलिटर पेट्रोल र १४ लाख ८ हजार ४९४ किलोलिटर डिजेल आयात भएको थियो।
आर्थिक वर्ष २०८०/८१ देखि इन्धन आयात रकम पुनः ह्वात्तै बढेको छ। आवा. २०८०/८१ मा ६ लाख ९० हजार ३०४ किलोलिटर पेट्रोल र १३ लाख ६८ हजार ९६८ किलोलिटर डिजेल आयात हुँदा ४ खर्ब ६ अर्ब रुपैयाँ खर्च भएकोमा २०८१/८२ मा ७ लाख ५२ हजार ५३० किलोलिटर पेट्रोल र १४ लाख ६९ हजार १८१ किलोलिटर डिजेलका लागि ३ खर्ब ३९ अर्ब रुपैयाँ भुक्तानी गरियो।




