RE
Global College

सभामुख अर्याल पत्नी केसी लगायतका सदस्य सहित आज तान्जानिया प्रस्थान गर्दै, जलवायु विपदबारे प्रस्ताव लैजाने तयारी

काठमाडौं । अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज तान्जानिया प्रस्थान गर्ने भएका छन्।

महासभामा नेपालले हिमालय क्षेत्रसहित जोखिममा रहेका भूभागमा जलवायुजन्य विपद्को सामना र उत्थानशीलता सुदृढ गर्ने विषयमा आपत्कालीन प्रस्ताव पेस गर्ने तयारी गरेको छ।

भ्रमण कार्यक्रमअनुसार सभामुख अर्याल आइतबार साँझ ७ बजे कतार एयरवेजको क्यूआर ६४५ उडानबाट दोहा हुँदै तान्जानिया जानेछन्। तान्जानियापछि केन्याको संसद्को औपचारिक भ्रमण गरी प्रतिनिधिमण्डल असोज २७ गते काठमाडौँ फर्कने कार्यक्रम छ।

तान्जानियाको अरुशामा असोज १९ देखि २३ गतेसम्म महासभा सञ्चालन हुनेछ। आईपीयूको आधिकारिक कार्यतालिकामा पनि महासभा अक्टोबर ५ देखि ९ सम्म हुने उल्लेख छ।

सुशासन र जलवायु विपद्का विषयमा सहभागिता
महासभाको साधारण बहसमा सभामुख अर्यालले समावेशिता, विश्वास र सबैका लागि अवसरमार्फत सुशासन अभिवृद्धि तथा समुदायको सशक्तीकरण विषयमा मन्तव्य राख्ने कार्यक्रम छ। यही विषयलाई महासभाको मुख्य बहसको आधार बनाइएको छ। नेपालले आपत्कालीन कार्यसूचीका लागि हिमालय क्षेत्र तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जलवायुजन्य विपद्को सामना गर्न तत्काल संसदीय पहल र उत्थानशीलता सुदृढ गर्ने विषय अघि सार्ने तयारी गरेको छ। महासभाका क्रममा विभिन्न मुलुकका संसदीय प्रतिनिधिमण्डलसँग अलग्गै भेटवार्ता गर्ने कार्यक्रमसमेत छ।

महासभासँग सम्बन्धित बैठकहरूमा राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले एसियाली संसदीय सभामा सहभागिता जनाउनेछन्। राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट सहप्रतिवेदकको भूमिकामा तथा महिला सांसदहरूको मञ्चमा सहभागी हुने कार्यक्रम छ। प्रतिनिधि सभा सदस्य रविन महतोले युवा सांसदहरूको मञ्चमा सहभागिता जनाउनेछन्।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले संसद्का महासचिवहरूको संघको बैठकमा संसदीय प्रणालीको संरचना, कोष र क्षमता निर्माण विषयमा प्रस्तुति दिने कार्यक्रम छ।

महासभापछि केन्याको संसद् भ्रमण
तान्जानियामा महासभा र सम्बन्धित बैठकहरू सम्पन्न भएपछि नेपाली प्रतिनिधिमण्डल केन्या जानेछ। केन्याका सभामुख डा. मोसेस एम. वेताङ्गुलाको निमन्त्रणामा त्यहाँको संसद्को औपचारिक भ्रमण गर्न लागिएको हो।

प्रतिनिधिमण्डलमा सभामुख अर्यालकी पत्नी अम्बिका केसी, सांसदहरू महतो, सुवेदी र शाक्यसँगै महासचिव पाण्डेय, प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी, संघीय संसद् सचिवालयकी सहसचिव रेखा उपाध्याय खनाल र सभामुखका निजी सचिव मधु मिजार रहनेछन्।

Leave Your Comment

Related News