काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले अबको राजनीति सत्ता र औपचारिकतामा मात्र सीमित हुन नहुने बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै घिमिरेले जनताको जीवनस्तर सुधार र राष्ट्रिय समुन्नतिलाई कांग्रेसको मुख्य एजेन्डा बनाउनुपर्ने बताए ।
उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले लामो समय संघर्ष गरे पनि जनताका मनमा उठेका प्रश्नको समुचित जवाफ दिन नसकेको बताए । लोकतन्त्र केवल राजनीतिक व्यवस्था नभई नागरिकको जीवन परिवर्तन गर्ने माध्यमसमेत भएको उनको भनाइ थियो ।
‘लोकतन्त्र भनेको केवल व्यवस्था मात्र होइन, नागरिकको जीवन बदल्ने माध्यम पनि हो,’ उनले भने, ‘हामीले लोकतन्त्रको रक्षा गर्दागर्दै पनि जनताका मनमा उठेका प्रश्नहरूको समुचित जवाफ दिन सकेनौँ । यो हाम्रो आत्मसमीक्षाको विषय हो ।’
घिमिरेले वर्तमान राजनीतिक अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्दै पुरानो शैलीको राजनीतिले अबको आवश्यकता पूरा गर्न नसक्ने बताए । ‘हामीले बुढेसकाललाई सम्मानित बनाउन सकेनौँ र युवालाई समुन्नतिको स्पष्ट बाटो देखाउन सकेनौँ । अबको राजनीति केवल सत्ता र औपचारिकतामा मात्र सीमित हुनुहुँदैन,’ उनले भने ।
उनले १५औँ महाधिवेशनलाई कांग्रेसको नयाँ सङ्कल्पको अवसरका रूपमा लिनुपर्ने बताए । राजनीतिको केन्द्रमा सधैँ जनता र राष्ट्र हुनुपर्नेमा जोड दिँदै उनले महाधिवेशनपछि नयाँ जोस, जाँगर, कार्ययोजना र उत्साहसहित जनताको घरदैलोमा पुग्ने बताए ।
‘नेपाललाई संसारकै सुखी मुलुक बनाउने दिशामा हामी अगाडि बढ्नेछौँ,’ घिमिरेले भने, ‘यसका लागि आवश्यक ठोस कार्ययोजनासहित महाधिवेशनबाट आएको नयाँ उत्साह लिएर हामी गाउँ–गाउँमा जानेछौँ ।’
उनले औसत र परम्परागत राजनीतिक शैलीलाई परिवर्तन गरी कांग्रेसलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने बताए । १५औँ महाधिवेशन कांग्रेसका लागि मात्र नभई देशकै नयाँ उमङ्ग र रूपान्तरणको सुरुवात बन्नुपर्ने उनको भनाइ थियो ।



